May 4, 2026, Monday
२०८३ बैशाख २१

प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार (आज) प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् ।

दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् ।

ओली नेपाली कांग्रेसको सहयोगमा असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । त्यसको भोलिपल्ट उनले पद तथा गोपनीयताको शपथ लिएका थिए । सोही दिन ओली नेतृत्वको सरकारले पूर्णता पाएको थियो । सरकारमा नेकपा (एमाले) र कांग्रेससहित जसपा र लोसपा सहभागी छन् ।

माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने प्रधानमन्त्री ओलीको विश्वासको मतको विपक्षमा उभिने भएका छन् । संसदीय दलको बैठक डाकेर यी पार्टीले विश्वासको मत नदिने निर्णय नगरेका हुन् ।

एमालले विश्वासको मतको पक्षमा मतदान गर्न पार्टीका सांसदहरूलाई ह्रिप जारी गरेको छ । एमालेले अन्य राजनीतिक दल र स्वतन्त्र सांसदहरूलाई पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीलाई विश्वासको मत दिन आग्रह गरेको छ ।

नेपाली कांग्रेसले पनि आज बिहानको लागि संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्रीको पक्षमा मतदान गर्न कांग्रेसले पनि आफ्ना सांसदलाई ह्विप जारी गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री ओलीलाई विश्वास प्राप्त गर्न कांग्रेसको ८८ र एमालेको ७९ सांसदकै मात्र समर्थन पनि पर्याप्त हुन्छ। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सरकारमा रहेका कारण ती दलहरूबाट पनि प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्नेछन्।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि प्रधानमन्त्री ओलीलाई विश्वास मत दिने निर्णय गरिसकेको छ।

प्रतिनिधि सभामा  कांग्रेसका ८८, एमालेका ७९, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४,  नेकपा (एकीकृत समाजवादी)का १०, जसपाका ७, जनमतका ६, जसपा नेपालका ५, लोसपाका ४, नेमकिपा, जनमोर्चा र आम जनता पार्टीका १/१ जना र दुईजना स्वतन्त्र सांसद छन्।