May 4, 2026, Monday
२०८३ बैशाख २१

सुदूरपश्चिमसहित कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ । आज सुदूरपश्चिमसहित कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ।

देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ ।

वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी र वाग्मती प्रदेशका पहाडी भू–भागलगायत गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागका अनुसार सुदूरपश्चिम प्रदेशका धेरै स्थान, कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । वर्षाको सम्भावना रहेको क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिराबाट बच्न विभागले अनुरोध गरेको छ ।

विभागले आज बिहान जारी गरेको मौसम बुलेटिनमा भारी वर्षाका कारण ती क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।