May 4, 2026, Monday
२०८३ बैशाख २१

त्रिशूलीमा बेपत्ता बस र शवको खोजीका लागि भारतबाट आयो उद्धार टोली

काठमाडौं । पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका बस र शव खोजीका लागि भारतीय उद्धार टोली खटिएको छ । नारायणगढ-मुग्लिन सडक अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा भेलबाढीमा परी त्रिशूलीमा खसेको बस र यात्रुको खोजीका लागि भारतीय उद्धार टोली खटिएको हो।

उद्धारमा सहयोगका लागि नेपालले अनुरोध गरेपछि भारतबाट १२ जनाको उद्धार टोली सिमलताल आएका हुन्। नारायणगढ(मुग्लिन सडकको सिमलतालबाट त्रिशूलीमा हराएका दुईवटा बस अहिलेसम्म भेटिएका छैनन् । शवहरू भारतको सीमा क्षेत्रसम्ममा भेटिएका छन् ।

बेपत्ता भएका बस र नागरिकको खोजीका लागि नेपालले भारतको सहयोग मागेको थियो । भारतबाट खटिएको उद्धार टोली शुक्रबार राति नै हिंडेको हो । १२ सदस्यीय टोली आज घटनास्थल पुग्ने गृहमन्त्रलायको विपद् महाशाखा प्रमुख भीष्मकुमार भूसालले जानकारी दिएका छन् ।

सिमलतालमा असार २८ गते त्रिशूली नदीमा दुई बसमा सवार ६५ यात्रुमध्ये तीन जना हामफालेर जोगिएका थिए। नदीमा बेपत्ता ६२ मध्ये अहिलेसम्म २३ यात्रुको शव भेटिएको छ। ३९ जना अझै बेपत्ता छन्।