प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने माओवादी, रास्वपा र एसले गरे निर्णय

काठमाडौं । नेकपा माओवादी लगायत तीन विपक्षी दलले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बैठकले उक्त निर्णय गरेको हो ।
कांग्रेस–एमाले गठबन्धनको केपी ओली सरकार बनेसँगै प्रतिपक्षमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिच सिंहदरबारमा छलफल भएको थियो ।
शुक्रबार अपराह्न भएको उक्त छलफलमा प्रतिपक्षी दलहरुले साझा एजेण्डा बनाएर प्रतिपक्षको आवाज कसरी बलियो बनाउने भन्नेबारेमा छलफल भएको रास्वपाका सभापति रवि लामिछानेले जानकारी दिए ।
बैठक सकिएपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अनलाइनखबरसँग भने, ‘हामीले आइतबार ओलीजीलाई विश्वासको मत नदिने निर्णय गरेका छाैं । नयाँ सरकार ७६ (३) अनुसार गठन हुनुपर्नेमा ७६ (२) मा पुनः सरकार बन्नु असंवैधानिक हो भन्ने हाम्रो निष्कर्ष छ।’ ठूला दल मिल्दा निरंकुशताको खतरा हुने भएकाले सशक्त प्रतिपक्ष बनेर लोकतान्त्रिक मूल्यमान्यता जोगाउन भूमिका खेल्ने सहमति भएको पुनले बताए ।
प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यसूची छ ।





प्रतिकृया दिनुहोस्