प्रधानमन्त्री ओलीले पहिलो दिनमै गरे २२ सदस्यीय मन्त्रिपरिषद गठन, ११ जना नयाँ मन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका छन् ।
ओली नेतृत्वको मन्त्रिपरिषद्मा ११ जना नयाँ मन्त्रीले मौका पाएका छन् । नेपाली कांग्रेसबाट ७ र एमालेबाट चार जना नयाँले अवसर पाएका हुन् ।
कांग्रेसबाट आरजु राणा देउवा, प्रदीप पौडेल, रामनाथ अधिकारी, तेजुलाल चौधरी, बद्री पाण्डे, अजयकुमार चौरासिया र ऐनबहादुर शाही (ठकुरी) मन्त्री बनेका छन् । देउवा परराष्ट्र, पौडेल स्वास्थ्य, पाण्डे पर्यटन, चौरासिया कानुन र शाही बन मन्त्री बनेका छन् ।
यस्तै एमालेबाट देवेन्द्र दाहाल, विद्या भट्टराई, मानवीर राई र राजकुमार गुप्ताले पहिलो पटक मन्त्री बन्ने अवसर पाएका छन् । दाहाल भौतिक, भट्टराई शिक्षा, राई रक्षा र गुप्ता सामान्य प्रशासन मन्त्री बनेका छन् ।
यससंगै नवनियुक्त ओलीले प्रतिनिधि सभाबाट दुई तिहाइ सांसदको साथ पाएका छन् । मन्त्रीपरिषद गठनकै क्रममा उनले केही साना दललाई समेट्दै आफ्नो पक्षमा दुई तिहाइ सांसद जुटाएका हुन् ।
प्रधानमन्त्री ओलीले सरकारमा नेपाली कांग्रेसका अतिरिक्त जसपा र लोसपालाई सामेल गराएका छन् । यसैगरी जनमत पार्टीलाई सत्ता गठबन्धनले मधेस सरकारको नेतृत्व दिएर आफ्नै पक्षमा राखेको छ ।
२७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइ बहुमतका लागि कम्तीमा १८४ सांसदको समर्थन आवश्यक हुन्छ । अहिलेको गठबन्धनमा रहेका दलमध्ये नेपाली कांग्रेसका ८८, नेकपा एमालेका ७९, जसपाका ७, लोसपाका ४ सांसद छन् । यसैगरी जनमत पार्टीको ६ सांसद छन् । यी सबै दलको सांसद योग १८४ हुन्छ । यद्यपि सभामुख मत विभाजन प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।
मन्त्रीहरुको नामावली
१. केपी शर्मा ओली, प्रधानमन्त्री
२. प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास
३. विष्णु पौडेल, उपप्रधान तथा अर्थ
४. पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय
५. रमेश लेखक, गृह
६. शरतसिंह भण्डारी, श्रम तथा रोजगार
७. आरजु राणा देउवा, परराष्ट्र
८. नवलकिशोर साह सुडी, महिला बालबालिका
९. बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी
१०. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति
११. देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात
१२. तेजुलाल चौधरी, युवा तथा खेलकुद
१३. प्रदीप यादव, खानेपानी
१४. प्रदीप पौडेल, स्वास्थ्य
१५. अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिला
१६. बद्री प्रसाद पाण्डे, पर्यटन
१७. रामनाथ अधिकारी, कृषि
१८. विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि
१९. मानवीर राई, रक्षा
२०. दीपक खड्का, जलस्रोत तथा ऊर्जा
२१. राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य
२२. ऐनबहादुर शाही ठकुरी, वन तथा वातावरण





प्रतिकृया दिनुहोस्