May 4, 2026, Monday
२०८३ बैशाख २१

नवनियुक्त प्रधानमन्त्री केपी ओलीले लिए शपथ

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीलाई शपथ गराएका हुन् ।

प्रतिनिधिसभाको ठूलो दल कांग्रेसको समर्थन पाएका एमाले अध्यक्ष केपी शर्मा ओली चौथोपल्ट प्रधानमन्त्री बनेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई आइतबार साँझ प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

शपथग्रहण समारोहका उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु, सांसद, कूटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

२८ असारमा प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए ।

त्यसै दिन राष्ट्रपति पौडेलले दुई दिनको समय दिएर प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए भने एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेससहितका दलको सांसदहरुको समर्थन आफूलाई रहेको भन्दै दाबी पेस गरेका थिए ।

प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

श्रेष्ठ र पौडेल बने उपप्रधानमन्त्री

ओली नेतृत्वको मन्त्रिपरिषद्मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधानन्त्री बनेका छन् । वरीयतामा श्रेष्ठ अगाडि रहेका छन् । 

राष्ट्रपति कार्यालयका अनुसार श्रेष्ठले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने पौडेल अर्थमन्त्री बनेका छन् । उनीहरुलाई आजै राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।