May 4, 2026, Monday
२०८३ बैशाख २१

राष्ट्रपति कार्यालयमा पुग्यो २१ मन्त्रीको नाम, कसले कुन मन्त्रालय पाए ?

काठमाडौं । नयाँ सरकारमा सहभागी हुने २१  जना मन्त्रीको नाम टुंगिएको छ। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा सहभागी हुने २१  जना मन्त्रीको नाम टुङ्ग्यो लागेर राष्ट्रपति कार्यालयमा पुगेको हो ।

नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीले आ-आफ्नो भागमा परेका मन्त्रालयमा मन्त्रीहरू पठाएका हुन्।

कांग्रेसले १०, एमालेले ८, जसपाले २, लोसपाले १ मन्त्रीको नाम पठाएका छन्। नवनियुक्त प्रधानमन्त्री ओली र मन्त्रीहरूको शपथ सोमबार नै हुनेछ।

कांग्रेसले पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा मन्त्रीहरू सरकारमा पठाउने भएको छ। सिंह उपप्रधान तथा सहरी विकास मन्त्री हुनेछन्।

साथै गृहमन्त्रीमा रमेश लेखक, आरजु राणाा देउवा परराष्ट्र, तेजुलाल चौधरी युवा, अजय चौरसिया कानुन, दीपक खड्का ऊर्जा, ऐनबहादुर शाही वन, प्रदीप पौडेल स्वास्थ्य, रामनाथ अधिकारी कृषि र बद्री पाण्डे पर्यटन मन्त्री बन्ने भएका छन्।

एमालेबाट उपप्रधान तथा अर्थमन्त्रीमा विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ सञ्चार, बलराम अधिकारी भूमि व्यवस्था, दामोदर भण्डारी उद्योग, विद्या भट्टराईले शिक्षा, मानवीर राई रक्षा, राजकुमार गुप्ता संघीय मामिला, देवेन्द्र दाहाल भौतिक मन्त्री बन्ने भएका छन्।

यस्तै लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारी श्रममन्त्री बन्ने भएका छन्। जनता समाजवादीका प्रदीप यादव खानेपानी र नवलकिशोर साह महिला तथा बालबालिका मन्त्री बन्ने भएका छन्।

सफतका लागी नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । केहीबेरमा हुने पद तथा गोपनियताको शपथ लिन प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन् ।

प्रधानमन्त्रीको शपथ बिहान ११ बजेलाई तय भएपनि केही समय ढिला भएको छ । प्रधानमन्त्रीको शपथ लगत्तै मन्त्रीहरुको शपथ आजै हुने भएको छ ।