May 4, 2026, Monday
२०८३ बैशाख २१

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक, ओली सरकारमा पठाउने मन्त्रीबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन ।

मुख्यसचिव पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ । बैठकमा नयाँ सरकार गठन र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

साथै ओली सरकारमा पठाउने मन्त्रीहरूबारे पनि आज निर्णय लिने पार्टीको तयारी छ ।

हिजो मात्रै प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहालले संसद्बाट विश्वासको मत नपाएर पदमुक्त भएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि गरेको आह्वानमा एमाले अध्यक्ष केपी शर्मा ओलीले दाबी पेस गरेका छन् ।

राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेलगत्तै एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई साथ लिएर शीतल निवास पुगी प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् ।

ओलीले संसद्को पहिलो दल कांग्रेसका ८८ र दोस्रो दल एमालेका ७८ गरी १६६ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । एमालेका ७९ मध्ये एक सांसद निलम्बित छन् । ७८ मध्ये गणनामा १ सिट सभामुखको पनि गनिएको छ ।

शीतल निवास स्रोतका अनुसार आइतबार प्रधानमन्त्रीमा ओली नियुक्ति हुनेछन् भने साँझ शपथग्रहण हुनेछ । शपथसँगै कांग्रेस–एमालेले सानो मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले पनि राष्ट्रपतिले दिएको समयसीमाभित्रै प्रधानमन्त्री नियुक्ति र लगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताए । ‘यस पटक मन्त्रालय बाँडफाँटमा कुनै झमेला छैन । अधिकांश बाँडफाँट टुंगिसकेको छ, बाँकी शनिबारसम्म टुंग्याउँछौं,’ लेखकले भने ।

कांग्रेस र एमाले समीकरणलाई दुई दलबाहेक जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टीले समेत समर्थन जनाएका छन् । कांग्रेस एमालेले समर्थन जनाउने पाँचै दललाई सरकारमै सहभागी गराउने तय गरेर प्रत्येक दललाई एक/एक मन्त्रालय दिने समझदारी गरिसकेका छन् । कांग्रेस र एमालेसहित सात दल सहभागी हुँदा सरकारको पक्षमा दुई तिहाइभन्दा बढीको समर्थन पुग्छ ।