May 4, 2026, Monday
२०८३ बैशाख २१

प्रधानमन्त्रीमा एमालेका अध्‍यक्ष ओलीले गरे दाबी पेस

काठमाडौं । नेकपा एमालेका अध्‍यक्ष केशी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् । शुक्रबार शीतलनिवास पुगेर ओलीले दाबी पेस गरेका हुन् ।

शुक्रबार साँझ सभापति शेरबहादुर देउवालाई साथ लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका ओलीले कांग्रेसका ८८ र एमालेका ७७ गरी १६५ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् । 

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो ।

जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टी कांग्रेस-एमाले गठबन्धनमै भए पनि ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए । 

आज नै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको आह्वान गरेका थिए । शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर अध्‍यक्ष ओलीले दुई वा दुईभन्दा बढी दलको सरकार बनाउने सम्बन्धी संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन् ।

असार १७ को मध्यरातमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने सहमति भएको थियो । संविधान संशोधनसहितको एजेन्डा राखेर दुई दल सरकार बनाउन सहमत भएका थिए ।

राष्ट्रपति पाैडेलले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेपछि ओलीकाे नेतृत्वमा सरकार बन्ने बाटाे खुलेकाे थियाे । संविधानको धारा ७६ (२) मा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ ।

कांग्रेस र एमालेकाे समर्थन जुटाएर दाबी पेस गरेका ओलीलाई सरकार आह्वानकाे समयसीमा अगावै नियुक्त गर्ने राष्ट्रपति पौडेलको तयारी छ ।