May 4, 2026, Monday
२०८३ बैशाख २१

नयाँ सरकारमा दाबी गर्न शीतल निवास जाँदै कांग्रेस र एमाले

काठमाडौँ । नयाँ सरकारको दाबी गर्न नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरू शीतल निवास जान लागेका छन् । नेपाली काग्रेसका प्रमुख सचेतक रमेश लेखकले शुक्रबार राति सवा ९ बजे दाबी पेस गर्न दलका नेताहरू शीतल निवास जान लागेको बताएका हुन ।

संसद्को दुई ठूला दल कांग्रेस र एमालेले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकारका दुई तिहाइभन्दा बढी सांसदको समर्थनमा दाबी पेस गर्ने तयारी गर्न शितल निवास गैरहेको बताइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले असार ३० आइतबार साँझ ५ बजेसम्मका लागि दाबी पेश गर्ने समय दिएका छन् । संविधानको धारा ७६ (२) अनुरुप दाबी पेशका लागि राष्ट्रपतिले आह्वान गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन दुई दलले दाबी पेश गर्न लागेका हुन् ।

राष्ट्रपतिले आह्वान गरेपछि कांग्रेस र एमालेसहितको समर्थनमा अब एमाले अध्यक्ष शर्मा ओली प्रधानमन्त्री बन्ने बाटो खुलेको हो । यसअघि नै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले हस्ताक्षर गरिसकेका छन् ।

अहिले ९ बजे राष्ट्रपति कार्यालय शीतल निवास सांसदहरुको हस्ताक्षरसहित दाबी पेश गरिने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।