राष्ट्रपति पौडेलद्वारा नयाँ सरकार गठन गर्न धारा ७६ (२) बमोजिम दाबी पेस गर्न आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेका छन् । शुक्रबार राति राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।
राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभाको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेस गर्न ७२ घन्टा समय दिएका हुन् ।
उनले असार ३० गते आइतबार बेलुका ५ बजेसम्म प्रधानमन्त्रीको दाबी गर्न दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्रीको दाबी पेस गर्न भनेका छन् ।
यसअघि उनले कानुनविद्हरूसँग राय लिएका थिए । कानुनविद्हरूले राष्ट्रपति पौडेललाई संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन सुझाव दिएका थिए ।
राष्ट्रपति पौडेलले कानुनविद्हरू पूर्णमान शाक्य, विपिन अधिकारी, गोपालकृष्ण घिमिरे, हरिहर दाहाल, शेरबहादुर केसी, टिकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली, सिताराम केसी लगायतसँग सुझाव लिएका थिए । ती मध्ये वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले ७६ (३) अनुसार प्रक्रिया अघि बढाउन उचित हुने सुझाव दिएका थिए ।
संसद्को दुई ठूला दलबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइरहेको छ । कांग्रेस र एमालेले दुई तिहाइभन्दा बढी सांसदको समर्थनमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गरेका छन् ।






प्रतिकृया दिनुहोस्