May 4, 2026, Monday
२०८३ बैशाख २१

नयाँ सरकारमा दाबी पेस गर्न कांग्रेस-एमालेले तयार गर्यो हस्ताक्षर संकलन, राष्ट्रपति कानुनी परामर्शमा

काठमाडौँ । नयाँ सरकार गठनका लागि दाबी पेस गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हस्ताक्षर संकलन गरेका छन् । दुबै पार्टिका सांसदहरूसँगै दाबी पेस गर्ने कागजातमा दुई नेताले हस्ताक्षर गरेको एमाले सांसद सूर्य थापाले जानकारी दिएका हुन ।

नयाँ सरकार आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलले कानुनविद्हरूसँग परामर्श गरिरहेका छन् । संसद् सचिवालयले राष्ट्रपति पौडेललाई प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेर पदमुक्त भएको समेत जानकारी गराई सकेको छ ।

राष्ट्रपतिले सरकार गठनको आह्वान गरे दाबी पेस गर्ने तयारीमा कांग्रेस–एमाले नेताहरू छन् । एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउन सांसदहरूले हस्ताक्षर गरेका हुन् ।

शुक्रबार साँझ नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको ओलीको कार्यकक्षमा बसेको बैठकमा कांग्रेस–एमालेको बैठकले प्रधानमन्त्रीको दाबीका लागि हस्ताक्षर सहित पत्र तयार पारेको हुन ।

पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएसँगै सरकार ढलेसंगै कांग्रेसका ८८ र एमालेका ७७ गरी १६५ सांसदको समर्थन लिएर एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीमा दाबी पेस गर्ने लागेका छन् ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भने, ‘प्रधानमन्त्री दाबीका लागि बहुमत कांग्रेस र एमालेको समर्थन भए पुग्छ । दुई दलको समर्थन पत्र लिएर केपी ओलीजीले दाबी पेस गर्नुहुन्छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विपक्षमा कांग्रेस, एमाले, राप्रपा, जसपा, जसपा नेपाल, जनमत, लोसपा, नाउपालगायत दलले मत जाहेर गरेका थिए । तर, ओलीलाई प्रधानमन्त्रीमा नियुक्तका लागि कांग्रेस र एमालेको मात्र समर्थन रहने छ ।

जसपा, जसपा नेपाल, जनमत, लोसपा र नाउपालाई एक–एक मन्त्रालय दिएर सरकारमा सहभागी गराउने कांग्रेस-एमाले सकारात्मक छन् । उनीहरुले ओलीले प्रधानमन्त्रीको विश्वासको मत लिँदा पक्षमा मतदान गर्ने छन् । 

कांग्रेस–एमाले सत्ता समीकरणमा सामेल हुने अन्य दलले ओलीलाई विश्वासको मत मात्र दिने छन् । प्रमुख सचेतक रमेश लेखकले उक्त पत्रमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले हस्ताक्षर गरेका छन् । ‘राष्ट्रपतिमा प्रधानमन्त्रीको लागि दाबी पेस गर्ने पत्र तयार भइसकेको छ । नेपाली कांग्रेसले समर्थन गर्ने र केपी ओलीजीले दाबी गर्ने पत्रमा हाम्रो सभापतिजीले हस्ताक्षर गरेर केपी ओलीजीलाई दिइसक्नु भयो,’ उनले भने ।

राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीमा दाबी पेस गर्ने छन् । ‘राष्ट्रपति नयाँ सरकार गठनको आह्वान गर्नुहुन्छ । त्यसपछि हामी दाबी गर्न जान्छौँ,’ लेखकले भने ।