पदमुक्त भएसँगै राष्ट्रपति भेट्न शीतल निवासमा पुगे प्रचण्ड

काठमाडौँ । पदमुक्त भएसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् । संसद भवन नयाँ बानेश्वरबाट प्रचण्ड सिधै शीतल निवास लागेका हुन् ।
शुक्रवार प्रतिनिधिसभामा प्रचण्डले राखेको विश्वासको मत अस्वीकृत भएसँगै उनी पदमुक्त भएका हुन् । तत्काल रहेको २५८ मत रहेकोले उनले ६३ मात्रै मत पाएको र त्यसको विपक्षमा १९४ मत परेकाले उनको प्रस्ताव अस्वीकृत भएको सभामुख देवराज घिमिरेले जानकारी दिएका थिए।
शुक्रबार प्रधानमन्त्री प्रचण्डले पाँचौं पटक विश्वासको मत लिँदा दुई तिहाइ सांसद विपक्षमा उभिए । एमाले, जसपा, नाउपा र जनमतले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए ।
विश्वासको मतको मत विभाजनको बैठकमा उपस्थित २५८ जना सांसद मध्ये प्रधानमन्त्री प्रचण्डको प्रस्तावको पक्षमा माओवादी, रास्वपा र एकीकृत समाजवादीका ६३ सांसदले मतदान गरे ।
प्रधानमन्त्री प्रचण्डको विपक्षमा १९४ मत परेको छ भने एक जना सांसद तटस्थ प्रकट गरेका छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइका लागि १८४ मतको आवश्यक पर्छ । कांग्रेस, एमाले, राप्रपा, जसपा, जसपा नेपाल, जनमत, नाउपा र स्वतन्त्र सांसदहरुले पनि विपक्षामा मत जाहेर गरेका छन् ।
पाँचौँ पटकमा संसदबाट विश्वासको मत गुमाएका प्रचण्डले संसदमा कुल उपस्थित सांसदमध्ये विश्वासको मतको पक्षमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादीका गरी ६३ जना सांसदले मत पाए । यो कुल खसेको मतमध्ये २४.४१ प्रतिशत मत हो ।
प्रतिनिधि सभाबाट विश्वासको मत गुमाएसँगै प्रचण्डको सत्ता यात्रा टुङ्गिएको छ । २०७९ साल पुस ११ गते एमालेसहित ६ दलको समर्थनमा तेस्रो पटक प्रधानमन्त्री भएका उनले साढे १८ महिनामा पाँचौँपटक विश्वासको मत लिएर रेकर्ड राखेका छन् । यस अवधिमा प्रचण्डले सबैभन्दा ठुलो दल कांग्रेससँग एक पटक र दोस्रो ठुलो दल एमालेसँग दुई पटक सत्ता सहकार्य गरेका थिए ।
पहिलो पटक पुस २६ गते विश्वासको मत लिँदा उनले संसदका कुल उपस्थित सांसदमध्ये ९९.२५ प्रतिशत मत पाएर रेकर्ड राखेका थिए । पाँचौँ पटकमा आइपुग्दा ७५.५२ प्रतिशत मत गुमाएर सत्ताबाट बर्हिगमन भएका छन् ।
प्रचण्डले पहिलोपटक विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दा पक्षमा २६८ र विपक्षमा दुई मत परेको थियो । बैठकमा कुल २७० सांसदले मतदान गरेका थिए ।
त्यसबेला सत्ता पक्षबाट माओवादीसहित एमाले, रास्वपा, राप्रपा, जसपा, नाउपाले र राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिए । यस्तै विपक्षी दल कांग्रेस, एकीकृत समाजवादी, लोसपा र केही स्वतन्त्र सांसदले पनि विश्वासको मत दिएका थिए ।
तर राष्ट्रपतिको निर्वाचनपूर्व फागुन १२ गते दुई महिनामै एमालेसँग सहकार्य तोडेका उनी पुरानै गठबन्धनमा फर्किएका थिएँ । त्यतिबेला एमाले र राप्रपा सत्ताबाट बाहिरिएपछि उनले गत चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका थिए । उपस्थित सङ्ख्या २६२ रहेकोमा विश्वासको मतको पक्षमा १७२, विपक्षमा ८९ मत परेको थियो । त्यतिबेला प्रधानमन्त्री प्रचण्डले ६४.१८ प्रतिशत मत पाए ।
दोस्रो पटक प्रचण्डलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाका सांसद र स्वतन्त्र सांसदहरू प्रभु साह, अमरेशकुमार सिंहलगायतले विश्वासको मत दिएका थिए ।
फेरि एमालेसँग मिलेर २०८० फागुन २१ गते कांग्रेससँगको गठबन्धन तोडेपछि तेस्रो पटक फागुन ३० गते प्रचण्डले विश्वासको मत लिएका थिए । त्यतिबेला प्रधानमन्त्री प्रचण्डलाई संसदमा १५७ जनाले मत दिए । तत्काल उपस्थित सङ्ख्या २६८ मध्ये उनले ५८.५८ प्रतिशत मत पाएका थिए । तेस्रो पटक विश्वासको मत लिँदा उनले पहिलो पटकको तुलनामा ४०.६७ प्रतिशत र दोस्रो पटकको तुलनामा ५.६ प्रतिशत कम मत पाएका थिए ।
उनलाई माओवादीसहित एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीका साथै स्वतन्त्र दुई सांसदले समेत मत दिएका थिए ।
प्रमुख विपक्षी दल कांग्रेस, लोसपा, जनमत पार्टी, नेमकिपाले विपक्षमा मतदान गरेका थिए भने राष्ट्रिय जनमोर्चा मत विभाजन प्रक्रियामा सहभागी भएन ।
त्यसअघि प्रचण्डलाई साथ दिएका नाउपाबाहेक लोसपा, राजमो, जनमत पार्टीले तेस्रो पटकको विश्वासको मतमा साथ दिएका थिएनन् ।
सरकारमा सहभागी भएको जनता समाजवादी पार्टी नेपाल विभाजन भएपछि जेठ ७ गते चौथो पटक प्रचण्डले विश्वासको मत पाएका थिए । त्यतिबेला उनले १५७ मत पाएका थिए । उनलाई त्यतिबेला एमाले, माओवादी, रास्वपा, जसपा, नाउपा, जनमत पार्टी लगायतले समर्थन गरेका थिए । सबैभन्दा ठुलो दल कांग्रेसले विश्वासको मतसम्बन्धी प्रस्ताव बहिस्कार गरेको थियो ।





प्रतिकृया दिनुहोस्