विश्वासको मत राख्ने क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने- कांग्रेस-एमालेलाई कसले मिलायो ?

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्य आफैँ नबनेको बताएका छन् । प्रतिनिधिसभामा शुक्रबार विश्वासको मत माग्दै उनले यस्तो बताएका हुन् ।
प्रचण्डले प्रधानमन्त्रीका रूपमा आफूले लोकतन्त्रको सर्भिसिङ सुरु गरेको जिकिर गरेका छन् । उनले भने, ‘नेपाली जनताले राम्ररी बुझेको छ, खासमा तपाईहरू सरकारसँग डराएर यो ठाउँमा पुग्नुभएको हो । प्रधानमन्त्रीका रूपमा मैले लोकतन्त्रको सर्भिसिङ् सुरु गरेँ, लोकतन्त्रको गोडमेल सुरु गरेँ । कसैका प्रोफाइल हेरिनँ, विधिको शासन सुरु गरेँ । राज्यको खुला दोहन र शोषण गरिरहेको समूहसँग जुधेँ । कांग्रेस एमालेका सीमित नेताको दाबी होला, हामी आफैं मिलेका हौं । त्यो सत्य होइन । तपाईंहरूलाई कसले मिलाएको हो, किन मिलाएको हो, घामजत्ति नै छर्लङ्ग छ ।’
उनले आफूले विधिको शासन सुरु गरेको जिकिर गरे । उनले कांग्रेस-एमाले मिलेको भन्न लाज लागेर राष्ट्रिय सहमतिको सरकारको बर्को ओढिरहेको अरोप लगाए ।
‘सिधै कांग्रेस एमाले मिलेको भन्न लाज लागेर साथीहरूले राष्ट्रिय सहमतिको सरकारको बर्को ओढिरहनुभएको छ । साथीहरू, राष्ट्रिय सहमतिको पहलकदमी दिनकै उज्यालोमा जनताको खुला जानकारीमा पनि लिन सकिन्थ्यो । नियत सही हुन्थ्यो भने राष्ट्रिय सहमतिको विमर्श यही सम्मानित संसद्मा सुरु गर्न सकिन्थ्यो । तपाईहरू विमर्श होइन, षड्यन्त्रमा हुनुहुन्छ भन्ने तथ्य तपाईहरूले सहमति गरेको ठाउँ र समयबाट पुष्टि हुन्छ,’ उनले भने, ‘स्वाभाविक र विवेकसम्मत काम गर्दा त्यो तहको डर हुँदैन । आज जुन समूहहरूले तपाईंहरूलाई जोडेका छन्, तिनीहरूको सेवा नै तपाईंहरूको कर्तव्य भएपछि लोकतन्त्रको प्रतिष्ठा र जनसमर्थन अझ गिर्नेछ भन्ने मेरो ठूलो चिन्ता छ ।’
हिजोसम्म कानुनमाथि नै शासन गरेका समूहहरु आफ्नो सरकारसँग डराएर सरकार नै फेर्न लागेको उनले बताए । ‘त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न थालियो, एउटा समूह डरायो । ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्ता थालियो, अर्को समूह डरायो । भुटानी शरणार्थी प्रकरणको विस्तृत अनुसन्धान सुरु भयो, अर्को ठूलै समूह डरायो,’ उनले भने, ‘बाँसबारीदेखि बालमन्दिरको जमिन खोजी हुन थालेपछि यो देशको शक्ति सन्तुलन नै खलबलिन थाल्यो ।’
उनले अगाडि भने, ‘त्यही वर्गले देशको पहिलो र दोस्रो दल मिलायो । यसरी त्यो वर्गले आफ्नो शक्ति देखायो ।’
उनले जनता जागेर आफ्नो शक्ति देखाउने बेला आएको बताए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, ‘जनताले आफ्नो शक्ति देखाउनु भएन भने देशको शासन फेरि माफियाहरुकै अधिनमा जाने खतरा छ ।’
प्रधानमन्त्री प्रचण्डले कांग्रेस–एमाले मिल्दा आफूलाई प्रतिगमन र निरंकुशताको चिन्ता रहेको बताए । उनले पहिलो र दोस्रो ठूला दल मिल्दा जहिले पनि लोकतन्त्र कमजोर बनेको र अधिनायकवादलाई प्रश्रय दिएको बताए ।
‘यहाँ त कांग्रेस र एमाले मिलेर सरकार मात्र बनाउँदै हुनुहुन्न, रहस्यमय तरिकाले संविधानमाथि छेडछाड गर्ने प्रयास गर्नुभएको छ ।’ उनले भने, ‘‘तपाईंहरुको यात्रा प्रतिगमनतिर हो भन्ने तपाईंहरुको सहमतिको तरिका, सहमति गरेका ठाउँहरु, सहमतिको तयारी कसका घरमा गर्नुभयो ? हस्ताक्षर कसका घरमा गर्नुभयो ? त्यो समय कुन रोज्नुभयो भन्ने आम जनताले नजिकबाट हेरिरहेका छन् । त्यसको हिसाब राखिरहेका छन् ।’
आफूले सबै भन्ने हो भने लाजमर्दो अवस्था आउने उनले बताए । प्रधानमन्त्री प्रचण्डले कांग्रेस र एमाले नेताहरुलाई प्रश्न गरे, ‘नियत सफा भए पहिलो र दोस्रो दल मिल्न अँध्यारो र बन्द कोठा चाहिन्छ ?’
प्रधानमन्त्री प्रचण्डले आम जनताले देखिने र बुझिने गरी आफू नेतृत्वको सरकार राम्रो अंकका साथ उत्तीर्ण भएको दाबी गरे । पहिलोपटक संसदमा विश्वासको मत लिँदा आफूले उपलब्धिका डाटा र रिपोर्ट कार्डका साथ उपस्थित हुने प्रतिबद्धता गरेको भन्दै उनले अहिले सरकार ‘राम्रो नम्बर ल्याएर पास’ भएको दाबी गरेका हुन् ।
प्रचण्डले संविधान कार्यान्वयन, संघीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, सुशासन प्रवद्र्धन, सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण हुँदै गएको बताए ।
नागरिकमैत्री शासन प्रणालीको स्थापना तथा भ्रष्टाचार नियन्त्रण, राष्ट्रिय हितको रक्षालगायतका सबै जिम्मेवारीमा सरकारले राम्रो काम गरेको उनको भनाइ छ ।
प्रचण्डले आफूले सुशासनका लागि काम गर्नु नै सरकार ढाल्ने आधार बनेको भन्दै देश माफियाको हातमा जान लागेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले देश माफियाको हातमा जान लागेको भन्दै जनता जाग्ने बेला भएको बताए ।
“जनता जाग्नुस्, अब जनता जाग्ने बेला भयो, होइन भने फेरि देश माफियाकै हातमा जान लाग्यो,” प्रधानमन्त्री प्रचण्डले भने, “यति धेरै हाइ प्रोफाइल कहिल्यै पक्राउ परेका छन् । अहिले पनि उपप्रधानमन्त्री भएका व्यक्ति प्रहरी हिरासतमै हुनुहुन्छ ।”





प्रतिकृया दिनुहोस्