May 4, 2026, Monday
२०८३ बैशाख २२

प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसदको दुवै सदनको बैठक आज बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभा बैठक अपराह्न ४ बजे र राष्ट्रिय सभा बैठक दिउँसो सवा १ बजे बस्ने भएको हो।

प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।

राष्ट्रिय सभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरूको ब्यहोरा जानकारी गराउने तथा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त प्रस्तावहरू प्रस्तुत गर्नेछन्।

उनले आर्थिक विधेयक २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने सहित विभिन्न प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण (पहिलो संसोधन) विधेयक, २०७७  का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संसोधनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

मन्त्री तामाङले नै उक्त संसोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।