June 19, 2025, Thursday
५ असार २०८२, बिहीबार

रास्वपाको बैठक जारी, मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाहीको सिफारिस

काठमाडौं । सत्तासाझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक जारी छ । बालाजुस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका हुन ।

बैठकमा निलम्बित महामन्त्री डा. मुकुल ढकालमाथिको अनुशासनको कारबाहीबारे छलफल भैरहेको बताइएको छ । पार्टीको अनुशासन आयोगले डा. ढकालमाथिको अनुसन्धानात्मक कारबाहीको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाइसकेको छ ।

रास्वपाको अनुशासन आयोगले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ । केन्द्रीय समिति बैठकमा आयोगको सिफारिसमाथि छलफल भइरहेको केन्द्रीय सदस्य शिशिर खनाललले बताएका हुन । 

समीक्षा यात्राको प्रतिवेदन मिडियामा चुहाएको बारे गत असार १४ गते पार्टीको अनुशासन आयोगले डा. ढकाललाई सात दिने स्पष्टीकरण सोधेको थियो । त्यो स्पष्टीकरणको जवाफ ढकालले पार्टी कार्यालयमा दर्ता गराएको बताएका छन् ।

गएको बुधबार बसेको रास्वपा केन्द्रीय समिति बैठकबाट ढकाललाई पार्टी अनुशासनविपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै सात दिनका निम्ति महामन्त्री र पार्टी प्रवक्ता पदबाट निलम्बन गरिएको थियो ।

यस्तै, बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ ।