देशका ३१ स्थानमा भारी वर्षा : अविरल वर्षाका कारण ३ को मृत्यु, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । शनिबार परेको विरल वर्षाका कारण काठमाडौँको नागार्जुन नगरपालिका ३ मा ट्रिपिकल रेस्टुरेन्टको किचेन कोठमा माथिबाट पहिरो आई पुरिँदा वर्ष २२ का मनोज वि.क. घाइते भई मनमोहन अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।
स्याङ्जाको बिरुवा गाउँपालिकामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । बिरुवा गाउँपालिका वडा ६ लामाखेतका ईश्वरी लम्सालको घर पहिरोले पुरेको हो ।
पहिरोमा परी बिरुवा-६ माझकोटकी ६५ वर्षीया गुहेश्वरी शर्मा मरासिनी र ६७ वर्षीया हरिमाया शर्माको ज्यान गएको हो । माझकोटकै ७१ वर्षीय माधव शर्मा बेपत्ता छन् ।
पर्वतमा पहिरोले २ जना पुरिएका छन् । फलेवास नगरपालिका १ कार्कीनेटामा पहिरो जाँदा २ जना बेपत्ता हुन् । भैँसीबाख्रा उद्धार गर्न जाँदा स्थानीय ४० वर्षका झलकप्रसाद शर्मा र आँधिखोला गाउँपालिका ३ का ३३ वर्षीय तुलसी प्रसाद शर्मा बेपत्ता भएका हुन् ।
दोलखाको गौरीशंकर गाउँपालिका ९ मा बाढीले बर्ष ६३ की जाङ्मु शेर्पालाई वेपत्ता बनाएको छ । प्रहरीका अनुसार गौरीशंकर हिमालको फेदबाट हिमपहिरो आई छोम्मु गोल्जु खोला थुनिएको र रोल्वालिङ खोलामा मिसिएर पानीको बहाव बढेर बाढी आउँदा होटलको सामान सार्ने क्रममा शेर्पा बेपत्ता भएकी हुन । सोही स्थानमा बाढीले ३ वटा घर समेत बगाएको छ ।
दाङको राजपुर गाउँपालिका २ का राजकुमार यादवलाई राप्ती नदी पार गर्ने क्रममा नदीले बगाई बेपत्ता भएका छन् । गुल्मीको रुरु क्षेत्र गाउँपालिका ३ मा पहिरोले घर पुर्दा वर्ष ४५ की रुपा टमटा घाइते भएकी गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीबाट मध्यपुर ठिमी दिव्यश्वरी प्लानिङमा १८ वटा टहरामा बस्ने ५६ जना मानिसहरूलाई उद्धार गरिएको प्रहरीको भनाई छ ।
गए रातीदेखिको अविरल वर्षातका कारण देशका ३१ स्थानमा भारी वर्षा भइरहेको छ भने ती क्षेत्रमा खोला तथा नदीमा भीषण बाढी आउँदा चेतावनी जारी गरिएको छ । जल तथा मौसम विभागको बाढी पूर्वानुमान शाखाका अनुसार यतिबेला देशमा विभिन्न ३१ स्थानमा भारी वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागले बाढी पहिरोको कहर निम्त्याउनेगरी शुक्रबार शुरू भएको मौसम बदली आउँदो सोमबारसम्म जारी रहने पूर्वानुमान गरेको छ ।
विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तीन दिनका लागि मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै बदली यथावत् रहने सम्भावना रहेको जनाएको हो ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित रहेको महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार हाल देशभर साधारणदेखि पूर्णतयाः बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज शनिबार राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू, कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षा सम्भावना छ ।
भोलि असार २३ गते आइतबार दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने महाशाखाले पूर्वानुमान गरेको छ । सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा सम्भावना छ ।
कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा सम्भावना छ। साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।
भोलि राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने महाशाखाले अनुमान गरेको छ । मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
पर्सी असार २४ गते सोमबार दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ । सबै प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। । कोशी, बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
रातीː देशभर आंशिकदेखि साधारणतयाः बदली रहने छ । कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
सबै प्रदेशका धेरै स्थानहरूका मेघ गर्जन-चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको र थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो ।
ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाले अनुरोध गरेको छ ।
अति भारी वर्षाले दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ ।
यस्तो छ शनिवारको वर्षा, बाढी र पहिरोबाट भएको क्षतिको विवरण :








प्रतिकृया दिनुहोस्