ल्होत्से हलमा कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको आज बैठक बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा दिउँसो ३ बजे दलको बैठक बस्ने कांग्रेसले जनाएको हो ।
बैठक पछिल्लो राजनीतिक घटनाक्रमा केन्द्रित हुने बताइएको छ । यही असार १७ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग सत्ता सहकार्यको सहमति भएसँगै त्यसबारे जानकारी गराउन बैठक बस्न लागेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
असार १९ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको सहमति अनुमोदन गरेको थियो । आजको बैठकले पनि सोही निर्णयलाई अनुमोदन गर्ने प्रमुख सचेतक लेखकले बताए ।
भोली संचालन हुने सदनमा पनि कसरी प्रस्तुत हुनेलगायत विषयमा बैठकमा छलफल हुने बताइएको छ । कांग्रेस–एमालेको सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्नेछ ।
एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते विश्वासको मत लिन सङ्घीय संसद्लाई जानकारी गराएका छन् ।





प्रतिकृया दिनुहोस्