May 4, 2026, Monday
२०८३ बैशाख २२

एमालेले बोलायो संसदीय दलको बैठक, नयाँ सरकार गठनको तयारी गर्ने

काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेससँग मिलेर नयाँ सरकार बनाउने तयारीमा रहेको नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको हो।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठक आइतबार बिहान १० बजे संसद् भवनको ल्होत्से हलमा बोलाइएको हो । बैठकमा  एमालेका सांसद्हरुलाई अनिवार्य उपस्थितिको लागि निर्देशन दिइएको छ ।

भोलि प्रतिनिधि सभा बैठक बस्नु अघि सदनमा एमालेको भूमिकाबारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रसँगको गठबन्धन लत्याउँदै एमालेले यही असार १७ गते मध्यराति नेपाली का‌ग्रेससँग सत्ता साझेदारी गर्ने सहमति गरेको छ। यस क्रममा उसले असार १९ गते वर्तमान सरकारबाट आफ्ना सबै मन्त्रीलाई फिर्ता बोलाई समर्थनसमेत फिर्ता लिइसकेको छ।

तर अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने असार २८ मा संसद्‌बाट विश्वासको मत लिने र अहिले राजीनामा नदिने अडान लिइरहेका छन्। जसका कारण नयाँ सरकार गठनको प्रक्रिया अघि बढिसकेको छैन। 

यद्यपि एमाले र कांग्रेस एकातिर हुँदा प्रधानमन्त्रीले विश्वासको मत पाउने सम्भावना रहँदैन। यी सबै विषय र पछिल्लो राजनीतिक परिस्थितिबारे एमालेले आजको बैठकमा छलफल गर्नेछ।