May 4, 2026, Monday
२०८३ बैशाख २२

यो वर्षको मनसुनी सिजन आजबाट सुरु, अति भारी वर्षा हुने सम्भावना

काठमाडौं । यो वर्षको मनसुनी सिजनमा आजबाट अति भारी वर्षा सुरु भएको छ । यो वर्ष मनसुन सुरु भएपछि अति भारी वर्षा सुरु भएको आज पहिलो दिन हो ।

यसअघि शुक्रबारसम्म धेरै भारी वर्षा मात्र भएको थियो । “यो वर्ष आजबाट अति भारी वर्षा सुरु भएको हो । हामीले विशेष बुलेटिनमा उल्लेख गरेका थियौँ,” मौसमविद् प्रतिभा मानन्धरले भनिन्, “तर दैनिक बुलेटिनमा अति भारी वर्षाको पूर्वानुमान आज पहिलो पटक हो ।”

२४ घण्टामा २०० मिलिमिटरभन्दा माथि वर्षा भयो भने अति भारी वर्षा हुने मौसमविद् मानन्धरको भनाइ छ । उनका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।  

मौसमको शब्दावलीमा १० मिलिमिटरसम्मको वर्षालाई हल्का, १०-५० मिलिमिटरसम्मको वर्षालाई मध्यम, ५०-१०० मिलिमिटरसम्मको वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी पानी पर्‍यो भने अति भारी वर्षा भनिन्छ।

शनिबार दिउँसो पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बुलेटिन जारी गरी जानकारी दिएको छ।

महाशाखाका अनुसार मनसुनी वायुको प्रभावले देशभर पूर्णतया बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग र बाँकी प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ।

राति पनि देशभर साधारणतया देखि पूर्णतया बदली रही कोशी र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

कोशी,  बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा राति पनि भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम  प्रदेशको एक-दुई  स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।