May 4, 2026, Monday
२०८३ बैशाख २२

जसपाद्वारा पनि सरकारलाई दिएको समर्थन फिर्ता, अब प्रचण्डको पक्षमा ६३ सांसद मात्रै

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता अशोक राईले प्रधानमन्त्री प्रचण्डलाई पत्र लेख्दै समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् । सो पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीले राजीनामा दिएपछि समर्थन फिर्ता लिएका हुन् ।

जसपाले आजै सभामुख देवराज घिमिरेलाई सरकारको समर्थन फिर्ता लिएको जानकारी गराएको छ । नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ समीकरण बनाउने सहमति भएपछि जसपाले समर्थन फिर्ता लिएको हो ।

प्रधानमन्त्रीले असार २८ गते संसद्बाट विश्वासको मत लिँदै छन् । संसद्मा ७ सिट भएको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले पनि समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डको पक्षमा माओवादी (३२), रास्वपा (२१) र एस (१०) का गरी ६३ सांसद छन् ।

यसअघि सरकारलाई समर्थन गरेका जनमत (६) र नागरिक उन्मुक्ति (४) ले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छैनन् ।

पछिल्लोपल्ट प्रधानमन्त्री बनेयता प्रचण्डले प्रतिनिधिसभाबाट २०७९ पुस २६ मा २७० सांसदमध्ये २६८ मत, दोस्रो पटक २०७९ चैत ६ मा २६२ सांसदमध्ये १७२, तेस्रो पटक २०८० फागुनमा उपस्थित २६८ सांसदमध्ये १५७ जनाको मत पाएका थिए । चौथो पटक २०८१ जेठ ७ मा १५८ मध्ये १५७ सांसदको साथ पाए । उनले असार २८ मा पाँचौं पटक विश्वासको मत लिन लागेका हुन् ।

449353554_2668158610034013_1273320723124716898_n-1720183948.png

449191387_2163342720709268_8208679386003768648_n-1720183947.png