प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठायो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् । त्यसका लागि शुक्रबार संसद सचिवालयलाई पत्र पठाइएको छ।
प्रधानमन्त्री प्रचण्डले संघीय संसद्का महासचिवलाई पत्र लेखेर २८ गतेको संसद् बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका हुन् ।
संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइसकेको छ । त्यो सहमतिअनुसार एमालेले बुधबार मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो ।
‘मेरो नेतृत्वमा संवत् २०७९ साल पुस ११ गते गठित सरकारमा सहभागी दलहरूमध्ये एक दलले आफ्नो समर्थन फिर्ता लिएको हुँदा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव राखु पर्ने प्रावधान भएअनुरूप उक्त विषय संवत् २०८१ साल असार २८ गतेको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध छ’, प्रधानमन्त्रीको पत्रमा भनिएको छ ।
कांग्रेस र एमालेले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेपनि प्रचण्डले संसदमार्फत विश्वासको मत लिने बताउँदै सोहीअनुसार पत्राचार गरेका हुन् ।
२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ, जबकि अहिलेसम्म प्रचण्डसँग माओवादी (३२), रास्वपा (२१), एकीकृत समाजवादी (१०) र अशोक राई नेतृत्वको जसपा (७) को गरेर ७९ मत मात्र छ ।
उनको विपक्षमा नयाँ सरकार गठन गर्ने सहमति गरिसकेका कांग्रेस (८८) र एमाले (७९) गरी १६७ मत देखिन्छ ।






प्रतिकृया दिनुहोस्