May 4, 2026, Monday
२०८३ बैशाख २२

एमालेका मन्त्रीले बालुवाटार पुगेर बुझाए राजीनामा, प्रचण्ड सरकार अल्पमतमा

काठमाडौँ । नेकपा एमालेका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सामूहिक राजीनामा दिएका छन् । सत्ताको सबैभन्दा ठूलो दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको हो ।

बुधबार साँझ बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा पत्र बुझाएको मन्त्री ज्वालाकुमारी साहले जानकारी दिइन् । एमाले र कांग्रेसबीच नयाँ सरकार गठन गर्ने सहमति भएपछि मन्त्रीहरु राजीनामा पत्र बोकेर बुधबार साँझ बालुवाटार पुगेका थिए ।

एमाले मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता भएको जनाएका हुन् । प्रधानमन्त्री प्रचण्डले एमालेका मन्त्रीहरुको एक एक गरेर राजीनामा बुझे । 

प्रधानमन्त्री प्रचण्डले यो राजीनामा आफूले भोलि स्वीकृत गर्ने बताएका एक मन्त्रीले जानकारी दिए । एमाले मन्त्रीहरुको राजीनामा बुझेपछि प्रचण्डले धेरै टिप्पणी गरेनन् ।

एउटा कुरा मात्र भन्छु भन्दै उनले फत्तेमान राजभण्डारीको गीत गाए, यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले, कसैलाई माया गर्नु एउटा भुल गरे मैले ।’

प्रचण्ड नेतृत्वको सरकारमा एमालेबाट उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिलामा पदम गिरी, कृषि तथा पशुपन्छी विकासमा ज्वालाकुमारी साह, भूमि व्यवस्था, कृषि तथा सहकारीमा बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमा दामोदर भण्डारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमा भगवती चौधरी, खानेपानीमा राजेन्द्रकुमार राई र रक्षामन्त्रीमा हरिप्रसाद उप्रेती थिए ।

सोमबार मध्यरातमा संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेले नयाँ गठबन्धन बनाउने सहमति गरेका थिए । संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएर दुई दल गठबन्धन गर्ने निर्णयमा पुगेका हुन् ।

UML-Ministers-(5)-1720018938.jpg

त्यसपछि दुवै दलले प्रचण्डलाई सरकारबाट राजीनामा दिएर सहयोग गर्न आग्रह गरेका थिए । तर, प्रधानमन्त्री प्रचण्डले विश्वासको सामना गर्ने बताएका थिए ।

यसअघि मंगलबार एमालेको सचिवालय बैठकले प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आजसम्मको समय दिएको थियो । तर, पार्टीले दिएको समयभित्र प्रधानमन्त्रीले राजीनामा नदिएपछि एमालेले समर्थन फिर्ता लिएर मन्त्रीहरूलाई सरकारबाट बोलाएको हो ।

प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको विरोधकै बीच जेठ ७ गते चौथोपटक विश्वासको मत लिएका थिए । त्यतिबेला उनको पक्षमा १५७ मत परेको थियो ।

हेर्नुहोस् तस्बिरहरू :

UML-Ministers-(1)-1720018935.jpg
UML-Ministers-(7)-1720018940.jpg
UML-Ministers-(8)-1720018940.jpg
UML-Ministers-(6)-1720018938.jpg
UML-Ministers-(4)-1720018937.jpg
UML-Ministers-(3)-1720018936.jpg
UML-Ministers-(2)-1720018935.jpg

तस्बिरहरू : प्रधानमन्त्रीको सचिवालय