एमालेसँग भएको सहमति अनुमोदन गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । नेपाली कांग्रेसले नेकपा एमालेसँग भएको सहमतिलाई अनुमोदन गर्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको हो।
बैठक २०८१ असार १९ गते बुधबार बिहान ९ बजे बस्ने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका हुन् । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने भएको छ ।
‘एमालेसँग भएको सहमतिलाई अनुमोदन गर्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ,’ प्रवक्ता महतले भने। तत्काल केन्द्रीय समिति बैठक बस्न नसकेका खण्डमा कांग्रेस विधानअनुसार महत्वपूर्ण निर्णय केन्द्रीय कार्यसम्पादन समितिबाट पनि गर्न मिल्छ। कार्यसम्पादनको निर्णय लगत्तै बस्ने केन्द्रीय समिति बैठकबाट अनुमोदन गर्ने विधानको व्यवस्था छ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ । गएको मध्यरातमा कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति बनेको थियो। उक्त सहमतिबारे सभापति शेरबहादुर देउवाले मंगलबार बिहान बसेको पदाधिकारी बैठकमा जानकारी गराएका छन्।
आज बिहान आफ्नै निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा देउवाले एमालेसँग भएको समझदारीबारे जानकारी गराएका हुन् ।
नेताहरुका अनुसार देउवाले एमाले र कांग्रेसबीचको समझदारीअनुसार बन्ने सरकारको नेतृत्व आलोपालो गर्ने जानकारी गराएका थिए । तर पहिले सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे चाहिँ खुलेको छैन । यद्यपि गएरातिदेखि नै पहिलो कार्यकाल एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने र त्यसपछि देउवाले सरकारको नेतृत्व गर्ने समझदारी भएको स्रोतहरुले बताएका छन् ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक अस्थीरताका कारण लोकतन्त्र नै खतरामा पर्ने सम्भावना भएकाले कांग्रेस र एमालेबीच सत्ता साझेदारीको समझदारी भएको बैठकपछि पत्रकारहरुलाई बताए । उनले सरकारलाई राष्ट्रिय सहमतिको बनाउने र इच्छुक दलहरुलाई सरकारमा सामेल गर्ने बताए ।
प्रवक्ता महतले सत्तामा जानका लागि मात्रै समझदारी गर्दैनौं भनेर कांग्रेसले भन्दै आएको पनि बताए। ‘खाली सत्तामा जानका लागि मात्रै हामी यो समझदारी गर्दैनौं भनेर भनेका थियौं। हामीले महत्वपूर्ण मुद्दाहरूलाई केन्द्रमा राखेर एउटा समझदारी एमालेसँग हिजो गरिएको छ। अन्यौल हटाउने आधार समझदारीमा छ,’ प्रवक्ता महतले भने, ‘संविधानमा आवश्यक संशोधनका लागि पनि राष्ट्रिय सहमति निर्माण गर्ने प्रक्रिया अघि बढाउने समझदारी बनेको छ।’
अहिलेसम्मको समीक्षाबाट र अनुभवबाट राजनीतिक स्थायित्व कायम गर्न संविधान संशोधन पनि सँगसँगै अघि बढाउने कांग्रेस प्रवक्ता महतले बताए । आर्थिक स्थिति सुधार गर्न र विकास निर्माणमा देखिएको अन्यौल हटाउन पनि एमालेसँग समझदारी बनेको प्रवक्ता महत बताउँछन्।





प्रतिकृया दिनुहोस्