ओलीले प्रधानमन्त्री प्रचण्डलाई भने- पदबाट राजीनामा गर्नुस्, तर प्रचण्डले विश्वासको मतको सामना गर्ने

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पदबाट राजीनामा गर्न आग्रह गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर पदबाट राजीनामा गर्न आग्रह गरेका हुन् ।
ओलीले कांग्रेस र एमालेबीच मिलेर जाने नयाँ सरकार बनाउने सहमति भएकाले मार्गप्रशस्त गर्न आग्रह गरेको प्रचण्ड निकट स्रोतले बतायो ।
प्रधानमन्त्री प्रचण्डले ओलीलाई समझदारी कसरी भत्कियो भनी प्रश्न गरेका थिए । उनले संविधान चलाउने खोजेको हो भनी ओलीलाई सोधेका थिए । ओलीले मुख्य राजनीतिक मुद्दाहरुमा अहिले पनि समझदारी नै कायम रहने जवाफ दिँदै आफूलाई सघाउन समेत आग्रह गरेको बुझिएको छ ।
‘खासमा अहिले पनि हाम्रो समझदारी नै छ, तपाईंलाई बाहिर राखेर कहाँ छुट्टै समझदारी हुन्छ र भन्दै आउनुभएको थियो,’ प्रचण्ड निकट स्रोतले भन्यो, ‘तर उहाँ अगाडि बढ्नुभयो । संविधान चलाउने कुरा गर्नुभएको छ । त्यो हामी सम्भव देख्दैनौं ।’
प्रचण्डले ओलीलाई भनेको उद्धृत गर्दै ती नेताले भने, ‘संविधान नै मान्दिनँ भनेर हिँडेका विप्लव समूहदेखि मधेशका केही पक्षसमेत स्वीकार्ने ठाउँमा आइपुगेका छन् । अब संविधान चलाउन थाल्नुभयो भने माओवादीले द्वन्द्व गर्नुपर्दैन, बहुआयामिक द्वन्द्व हुन सक्छ ।’
ओलीले भने राजनीतिक स्थायित्वका लागि केही कदम उठाउनैपर्ने भएकाले माओवादी त्यस प्रक्रियामा सहभागी बनोस् भन्ने आफूले चाहेको आग्रह गरेका थिए ।
‘मैले तपाईंलाई यसबीचमा धेरैपटक साथ दिएँ, कति कुरा चित्त नबुझ्दा पनि असहयोग गरिनँ,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अब सघाउने पालो तपाईंको ।’
प्रधानमन्त्रीले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने निर्णय
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिने भएका छन् । बालुवाटारमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले बताएका हुन ।
उनले भने, ‘प्रधानमन्त्रीले विश्वासको मतको सामाना गर्ने धारणा बनाउनुभएको छ । हामीले पनि पार्टीको तर्फबाट एकमतले समर्थन गरेका छौं । विभिन्न पक्षसँग कुरा गर्छौँ । रास्वपा, कांग्रेस र एमालेका विभिन्न पक्षसँग कुराकानी गरेर अगाडि बढ्ने सहमति भएको छ ।’उनले दुई पार्टीले सहमति गरेर अरुलाई आज बिहान आए राष्ट्रिय सहमतिको सरकार बनाऔं भनेर नमिल्ने बताए ।
कांग्रेस र एमालेबीचको सहमतिपछि विकसित राजनीतिबारे छलफल गर्न प्रचण्डले बालुवाटारमा बैठक डाकेका थिए । दुई ठूला दल मिलेपछि वैकल्पिक सरकार गठनको सम्भावना नरहेकाले राजीनामा दिएर राजनीतिक कदम चाल्न उपयुक्त हुने सुझाव केही नेताले दिएका थिए ।
राजीनामा दिँदा नयाँ सरकार गठनको बाटो खुल्ने थियो । प्रधानमन्त्रीले राजीनामा नदिने अडानसँगै एमालेले मन्त्रीहरूलाई राजीनामा गराएर सरकारमाथिको समर्थन फिर्ता लिने तयारी गरेको छ । त्यसो गर्दा प्रचण्डले एक महिनाभित्र विश्वासको मत लिन पाउने सुविधा संविधानले दिएको छ ।





प्रतिकृया दिनुहोस्