सरकार फेरबदलको चर्चासगैं प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच फेरि भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच फेरि बालुवाटारमा भेटवार्ता भएको छ। प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान भेटवार्ता भएको हो ।
प्रधानमन्त्री प्रचण्ड अध्यक्ष ओलीबीच भेटको शृंखला चलिरहेको छ। उनीहरूबीच आइतबाट पनि भेटवार्ता भएको थियो। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हिजोको भेटवार्तामा उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि सहभागी भएका थिए ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गएको शनिबार ओलीनिवास बालकोट पुगेका थिए । त्यसयता नेतहरूबीचको भेटवार्ता र छलफल बाक्लिएको छ ।
प्रधानमन्त्री प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले दुई नेताबीच समसामयिक राजनीतिक परिस्थिति, सरकारका कामकारबाही, शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउने लगायतका विषयमा छलफल भएको जानकारी दिएकी छिन् ।
सत्ता फेरबदलको चर्चा चलिरहँदा दुई नेताबीच कुराकानी भएको हो । पछिल्लो समय कांग्रेस र एमालेबीच सत्ता सहकार्यका विषयमा संवाद भइरहेको छ ।
फागुन २१ मा माओवादीले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग गठबन्धन बनाएदेखि नै दुई ठूला दलबीच संवादको नयाँ चरण सुरु भएको नेताहरूको भनाइ छ । तर, दुवैतर्फका नेताले सरकार मात्र होइन, राजनीतिक स्थिरताका लागि संविधानमा सुधार गर्नुपर्ने प्रस्तावमा समेत छलफल गर्दै आएका थिए ।
सत्तासाझेदार एमालेका अध्यक्ष ओली र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति देउवाबीच संविधान कार्यान्वयनमा देखिएका अप्ठ्यारा फुकाउने ‘समझदारी’ समेत भएको छ । नेताद्वयबीचको भेटवार्तामा यस्तो समझदारी भएको देउवानिकट एक नेताले जानकारी दिएका हुन ।
त्यसका निम्ति संविधान संशोधन सुझाव आयोग गठन गर्ने गृहकार्य भइरहेको ती नेताले बताए । संविधान संशोधनलगायत विषयमा ओली र देउवाबीच एक तहको समझदारी भएको ती नेताको भनाइ छ । यो विषय निष्कर्षमा पुग्न भने बाँकी छ । विस्तृत छलफलपछि त्यसलाई पूर्णता दिने गरी ओली र देउवा अघि बढेका ती नेताले बताए ।
सुरुमा दोस्रो तहका नेताहरूबीच भएको संवाद सकारात्मक भएको भन्दै देउवा र ओलीको भेट बाक्लिएको हो । मूल विषयमा सहमति भएमा सरकार कसरी चलाउने भन्नेमा पनि दुई दलबीच करिब–करिब समझदारी भएको कांग्रेस नेताहरूको दाबी छ ।





प्रतिकृया दिनुहोस्