एकीकृत समाजवादीको महाधिवेशनमा आजदेखि बन्द सत्र सुरू

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको दसौं महाधिवेशनअन्तर्गत् आजबाट बन्द सत्र सुरू भएको छ। एकीकृत समाजवादीका अनुसार कमलादीस्थिति प्रज्ञा भवनमा जारी महाधिवेशनमा आज बिहान ९ बजेबाट बन्द सत्र सुरू भएको हो।
त्यसअघि अध्यक्ष मण्डल गठन हुने एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन्। बन्द सत्रमा अध्यक्षको राजनीति प्रतिवेदन, महासचिवको सांगठनिक प्रतिवेदन, नेपाली विशेषताको समाजवाद, विधान संशोधन प्रस्ताव पेश गरिनेछ।
ती प्रतिवेदनमाथि छलफल गरेर पारित गरेपछि नेतृत्व चयनको प्रक्रिया सुरू हुने बताइएको छ। एकीकृत समाजवादीको केन्द्रीय पदाधिकारी २१ सदस्यीय बनाउने सहमति भएको छ।
पार्टीमा अहिले रहेको सम्मानित नेताको पद पनि कायमै राख्ने सहमति भएको बताए। यस्तै, पार्टीमा वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरिनेछ। आगामी महाधिवेशनबाट केन्द्रीय उपाध्यक्षमा महिला सिट सुरक्षित रहने व्यवस्था गरिएको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको ८९ औं सचिवालय बैठकले २१ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय सदस्य रहने व्यवस्था गरेको छ।
पार्टी प्रवक्ता खतिवडाका अनुसार महाधिवेशन हलबाट अनुमोदन हुने गरी केन्द्रीय समिति २९९ सदस्यीय बनाउने निर्णय भएको छ। यसअघि १९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय भएको छ।
खतिवडाका अनुसार सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने तयारी छ। यदि प्रतिस्पर्धा भयो भने पनि त्यसलाई स्वीकार गरेर गइने उनले बताएका छन्। तर अधिकांश महाधिवेशन प्रतिनिधिको धारणा सहमतिबाटै नेतृत्व चयनको रहेको उनले बताएका छन्।
एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल, झलनाथ खनाल र घनश्याम भूसाल उठ्ने चर्चा भइरहेको छ।
अध्यक्ष नेपालले आफूलाई एक कार्यकाल सहयोग गर्न नेताहरूलाई भनेका छन् भने खनालले आफू प्रतिस्पर्धा नगरेको खण्डमा भूसाललाई समर्थन गर्न खोजेका छन्। प्रवक्ता खतिवडाले सर्वसम्मत तरिकाबाट नेतृत्व चयन गर्न पहल भइरहेको बताए।
८० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरू नेतृत्वमा प्रतिस्पर्धा नभई सहमति होस् भन्ने पक्षमा रहेको खतिवडाले दाबी गरे।
एकीकृत समाजवादीको दसौं महाधिवेशन असार २० गतेसम्म चल्नेछ। एकीकृत समाजवादीको १० औँ राष्ट्रिय महाधिवेशन हिजोदेखि सुरु भएको हो ।
काठमाण्डौको नेपाल प्रज्ञा प्रतिष्ठानमा अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनको उद्घाटन गरेका हुन। उद्घाटनअघि नेताहरूसहितको र्याली निस्किएको थियो ।
महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, चित्रबहादुर केसी, उपेन्द्र यादव, डाक्टर सीके राउत, रञ्जिता श्रेष्ठ लगायत राजनीतिक दलका शीर्ष नेताहरू पुगेका थिए ।
नेकपा एमालेको भने सहभागिता थिएन । झन्डै तीन वर्षअघि एमालेबाट अलग भई नेकपा (एकीकृत समाजवादी) गठन भएको थियो ।





प्रतिकृया दिनुहोस्