May 4, 2026, Monday
२०८३ बैशाख २२

रञ्जिता श्रेष्ठलाई नाउपाका बहुमत सांसदले संसदीय दलको नेताबाट हटाए

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का बहुमत सांसदले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई दलको नेताबाट हटाएका छन्। आइतबार पार्टीको संसदीय दलको सचिवालयको बैठकमा बहुमत सदस्यहरूको उपस्थितमा सो निर्णय गरिएको हो ।

रञ्जितालाई दलको नेताबाट हटाउने निर्णयमा गंगाराम चौधरी डगौरा, अरूणकुमार चौधरी र लालवीर चौधरीले हस्ताक्षर गरेका छन्। रञ्जिताले भने हस्ताक्षर गरेकी छैनन्।

संसदीय दलका नेताको पदमा रहेकी श्रेष्ठलाई हटाएर गंगाराम चौधरी डगौरा लाई संसदीय दलको नेता चयन गरिएको छ । त्यस्तै प्रमुख सचेतक पदमा रहेका डगौराको स्थानमा लालवीर चौधरीलाई प्रमुख सचेतकको पदमा राख्ने निर्णय सर्वसम्मतिबाट पारित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

दलको नेता चयनसम्बन्धी पत्र आज संसद् सचिवालयमा दर्ता गर्ने दलका नेता गंगाराम चौधरीले बताए ।

नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीच विवाद छ। उनीहरूबीचको विवाद बीचमा मत्थर देखिए पनि पुनः सतहमा आएको हो। यसअघि पनि संरक्षक चौधरीले रञ्जितालाई दलको नेताबाट हटाउन खोजेका थिए।

यसबीचमा नाउपा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने चर्चा चलेको थियो। अध्यक्ष रञ्जिता सरकारमा जाने तयारी भइरहँदा बहुमत सदस्यले दलको नेता फेरबदल गर्ने निर्णय गरेका  छन्।

448880834_460113230075944_330993381473224225_n-(1)-1719802619.jpg