बालुवाटारमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई लिएर तीन शीर्ष नेताले गरे छलफल

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई लिएर शीर्ष तीन नेताहरूबीच छलफल भएको छ । बिहीबार साँझ नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको हो ।
प्रधानमन्त्री दाहालको सचिवालयले दिएको जानकारीअनुसार शान्ति प्रक्रियाको पूर्णता र संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायत विषयमा छलफल केन्द्रित रहेको छ।
कानुनमन्त्री पदम गिरीका अनुसार नेताहरूबीच शान्ति प्रक्रियाका सम्बन्धमा बाँकी कामहरूलाई निष्कर्षमा पुर्याउने विषयमा छलफल भएको हो । उनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका धेरै बुँदामा सहमति भइसकेको बताए ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलका नेताहरु, पूर्वमहान्यायाधिवक्ताहरुका साथै अन्य सरोकारवालसहितको बैठकमा विधेयक पारित गर्नका लागि अबको तीन दिनमा अन्तिम रुप दिने र बाँकी काम टुंग्याउने समझदारी भएको बताइएको छ ।
नेताहरूबीच सहमति हुन नसकेका विषयलाई चाँडो टुंगोमा पुर्याउन गहिरो गृहकार्य गर्ने समझदारी बनेको छ । “धेरै बुँदामा सहमति भइसक्यो, तीन–चार बुँदामा सहमति जुटाउन बाँकी छ । खासगरी, मेलमिलापका सन्दर्भमा पीडित पक्षको स्वतन्त्र सहमतिमा टुंग्याउन भनिएको थियो । तर, पीडित पक्षको स्वतन्त्र सहमति नभएको अवस्थामा कसरी जाने भन्ने विषय टुंगिन बाँकी छ । गम्भीर मानव अधिकार र मानव अधिकारका कस्ताकस्ता कुराहरूलाई समावेश गर्ने भन्ने विषयमा पनि छलफल हुन बाँकी छ,” उनले भने ।
कानुनमन्त्री गिरीका अनुसार बाल सेनामा भर्ना भनिएको विषयमा पनि स्पष्ट दृष्टिकोण बनिसकेको छैन । त्यस्तै, द्वन्द्वपीडितहरूलाई कसरी क्षतिपूर्ति दिएर परिपूरण गर्ने विषय पनि निष्कर्षमा पुग्न बाँकी छ ।
छलफलमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक रमेश लेखक र राधेश्याम अधिकारी पनि सहभागी रहेका थिए। साथै एमाले नेता प्रदीप ज्ञवाली, प्रमुख सचेतक महेश बर्तौला र अग्नि खरेल तथा माओवादी नेता जनार्दन शर्मालगायत पनि सहभागी रहेका थिए।





प्रतिकृया दिनुहोस्