राजदूत नियुक्तिको निर्णय सरकारले तत्काल सच्याउनुपर्छ : सांसद साउद

काठमाडौँ । नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले राजदूत नियुक्तिको निर्णय सरकारले तत्काल सच्याउन माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै पूर्व परराष्ट्रमन्त्री समेत रहेका सांसद साउदले सरकारले ११ देशका राजदूत फिर्ता गरेर नयाँ नियुक्त गर्न गरेको निर्णयलाई तत्काल सच्याउनुपर्ने माग गरेका हुन् ।
पूर्व परराष्ट्रमन्त्री साउदले नेपालले आफ्नो कूटनीतिलाई परिपक्व भरपर्दो बनाउनुपर्ने बेलामा शक्तिशाली ११ राष्ट्रमा रहेका राजदूतहरू फिर्ता बोलाएको बताए । उनले सरकारले राजदूत फिर्ता गर्दा अन्तर्राष्ट्रिय र कूटनीतिक क्षेत्रमा नेपालको विश्वसनीयता घटेको बताए ।
सत्ता गठबन्धनका बिचमा भागबन्डा गरेर राजदूत नियुक्त गर्दा केहीले पद अस्वीकार गरेको र केहीले राजदूत नियुक्तिका लागि विज्ञापन गर्नुले देशको प्रतिष्ठामाथि आँच पुगेको उनले बताए ।
नेपालको कूटनीतिक क्षमता र विश्वसनीयतासित नखेल्न सरकारसँग उनले आग्रह पनि गरे । उनले भने, ‘सत्ता गठबन्धनका दलहरूले भागबन्डा गरेर राजदूत नियुक्ति गर्ने काम गरेका छन् । केही नियुक्त भएका मान्छेहरूको कन्फ्लिक्ट अफ इन्ट्रेस्टका कुरा पनि सार्वजनिक डोमेनमा चर्चा चलिरहेको छ । केही राजनीतिक दलहरूले सरकारले नियुक्त गर्नुपर्ने यस्तो गम्भीर विषयलाई एनजिओमा मान्छे छनौटको विषयवस्तु जस्तो बनाएर सूचना र विज्ञापन निकालेर सार्वजनिक रूपमा राजदूत चयन गर्दै छन् । यसले नेपालको कूटनैतिक अस्मिता, मर्यादा र विश्वमा हाम्रो प्रतिष्ठामाथि आँच पुगेको छ । त्यसकारण सरकारले आफ्नो निर्णयलाई सच्याउनुपर्छ ।’
पूर्व परराष्ट्रमन्त्री साउदले सरकारले छिमेकी राष्ट्रहरु भारत–चीन तथा विश्व शक्तिसँग अपरिपक्व कूटनैतिक व्यवहार गरिराखेको पनि बताए । उनले बीआरआईबारे प्रधानमन्त्री पुष्कपमल दाहाल ‘प्रचण्ड’ ले छलफल गरिरहेको भन्ने विषयमा प्रतिपक्षसँग संवाद र छलफल नै नभएको उल्लेख गरे ।
साझा परराष्ट्र नीति हुनुपर्नेमा जोड दिँदै नेता साउदले सरकार आफैँलाई नोक्सानी हुने खालको नीतिमा अघि बढ्न खोजिरहेको भन्दै सचेत रहन आग्रह गरे ।





प्रतिकृया दिनुहोस्