गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत पर्यो भने विपक्षमा २८ मत परेको छ ।
सोमबार अपराह्न बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पाण्डेले संविधानको धारा १६८ को उपधारा ४ र प्रदेश सभा नियमावली २०८० को नियम १५० बमोजिम विश्वास मत प्रस्ताव राखेका थिए।
पाण्डेलाई कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र सांसद राजीव गुरुङ र माओवादीबाट चुनाव लडेका नेसपा सांसद फडिन्द्र देवकोटाले मत दिएका हुन् ।
सभामुख कृष्ण धितालका अनुसार सोमबारको प्रदेश सभा बैठकमा ५९ जना सांसद उपस्थित थिए। मुख्यमन्त्री पाण्डेले राखेको विश्वास प्रस्तावको पक्षमा ३१ जना सांसदले मत दिए भने विपक्षमा २८ सांसदले मतदान गरेका थिए।
नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट २०७९ को चुनावमा गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र १ बाट जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेर मुख्यमन्त्री पाण्डेलाई मत दिएका हुन् ।
देवकोटा बाबुराम भट्टराईनिकट हुन्। उनकै फ्लोर क्रसका कारण संविधानको धारा १६८ (३) बमोजिम सर्वोच्च अदालतको आदेशबाट मुख्यमन्त्री नियुक्त भएका पाण्डेको पद जोगिएको छ ।
नेसपाले २०७९ को चुनावमा माओवादीको चुनाव चिह्न लिएको थियो। साथै कांग्रेसका २७, राप्रपाका दुई र स्वतन्त्र सांसद राजिब गुरूङले पनि मुख्यमन्त्रीका पक्षमा विश्वास मत दिएका छन्।
६० सदस्यीय गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पाण्डेको दल नेपाली कांग्रेसका २७ जना सांसद छन्।





प्रतिकृया दिनुहोस्