मधेस प्रदेशमा जनमतका सतिश सिंह मुख्यमन्त्री नियुक्त, को-को बन्दैछन् मन्त्री ?

वीरगन्ज । मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सिंह भण्डारीले जनमत पार्टीका सांसद सतिश सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
६ दलका ५५ सांसदको समर्थनसहितको दाबी पेस गरेपछि प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सिंहलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्।
प्रदेश कार्यालयबाट नियुक्ति पत्र प्राप्त भएको नवनियुक्त मुख्यमन्त्री सिंहले बताए । उनलाई नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थन रहेको छ ।
मन्त्रालय भागबण्डाका लागी समेत सहमति जुटेको छ। नागरिक उन्मुक्तिले श्रम तथा यातायात र नेपाल संघीय समाजवादीले गृह तथा संचार मन्त्रालय पाउने सहमति भएको छ ।
माओवादीले अर्थ र उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय पाएका छन्। त्यस्तै एकीकृत समाजवादीले भूमी व्यवस्था कृषि तथा सहकारी र उर्जा सिँचाई तथा खानेपानी मन्त्रालाय पाएको छ।
एमालेले भौतिक पुर्वाधार, स्वास्थ्य तथा जनसंख्या, शिक्षा तथा संस्कृति र खेलकुद तथा समाज कल्याण गरी चारवटा मन्त्रालय पाएको छ। जनमत पार्टीले तत्काल वन तथा वातावरण मन्त्रालय मात्रै पाएको छ। उसले थप एउटा मन्त्रालय पछि पाउने सहमति भएको छ।
सरकारले बजेट ल्याइसकेपछि मन्त्रालयको जिम्मेवारी हेरेफेर हुने र जनमतले थप एउटा मन्त्रालय पाउने एमाले संसदीय दलका नेता सरोज यादवले बताए ।
दलहरुले मन्त्रीको टुंगो लगाउन नसक्दा बिहान १० बजेका लागि तोकिएको शपथ ग्रहण समारोह दुई घन्टा ढिलो हुने भएको हो।
पार्टीका नेताहरुका अनुसार एमाले पुरानै चारजना मन्त्रीलाई दोहोर्याउने भएको छ। जसअनुसार संसदीय दलका नेता सरोजकुमार यादव, राजकुमार लेखी, सत्रुधन प्रसाद सिंह, प्रमोद जैयसवाल मन्त्री र शारदादेवी थापा राज्यमन्त्री बन्ने छन्।
त्यसैगरी माओवादीले पनि अघिल्लो सरकारबाट राजीनामा दिएका संसदीय दल नेता भरत प्रसाद साह र युवराज भटराइलाई फेरि मन्त्री बन्न लागेका हुन्।
एकीकृत समाजवादीबाट समेत अघिल्लो सरकारमा मन्त्री रहेका संसदीय दलका नेता गोविन्द बहादुर न्यौपाने र बेची लुंगेली मन्त्री बन्न लागेका छन्।
त्यसैगरी नागरिक उन्मुक्ति पार्टीकी उर्मिला सिंह र नेपाल संघीय समाजवादी पार्टीकी विमला अन्सारी तरन्नुम मन्त्री बन्न लागेकी हुन्।
जनमत पार्टीबाट तत्काल विना विभागीय राज्मन्त्रीमा रंजु मण्डल खंगलाई मात्रै नियुक्त गरी शपथ खुवाउने तयारी छ । मन्त्रीको टुंगो पछि लगाइने नेताहरुले बताएका छन्।





प्रतिकृया दिनुहोस्