समाचार लुकाइदिन गृहमन्त्री लामिछानेले गरेको आग्रह नमानेपछि बुबालाई पक्राउ गरियो : सम्भव सिरोहिया

काठमाडौं । कान्तिपुरका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमा सेटिङ नगर्दा आफ्नो बुबा पक्राउ गरिएको बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत उनले भिडियो सार्वजनिक गर्दै आफ्नो बुबा समेत रहेका कान्तिपुरका अध्यक्ष कैलाशलाई नागरिकताको विषयमा झुटो मुद्दामा पक्राउ गरिएको बताएका हुन् ।
सहकारीको बचत अपचलनबारे लगातार लेख्दै आएको कान्तिपुर मिडिया ग्रुपलाई समाचार लुकाइदिन लामिछानेले गरेको आग्रह नमानेपछि अध्यक्ष सिरोहिया पक्राउ परेको उनका छोरासमेत रहेका प्रबन्ध निर्देशक सम्भवले बताए ।
“यसपालि रास्वपाका सभापति गृहमन्त्री रवि लामिछानेको को-अपरेटिप स्क्याम जनताको बीचमा ल्याउने क्रममा उहाँले धेरै अनुरोध गर्नुभयो । यो समाचार मिलाइदिनका लागि, लुकाइदिनका लागि । उहाँले पहिले आफूले गर्नु भएको पत्रकारिताजस्तो सोच्नुभयो भन्ने लाग्यो मलाई । सेटिङ गरेर समाचार बन्छ वा लुक्छ सोच्नुभयो । उहाँलाई कति अनुरोध गरियो कि म्यानेजमेन्टले न्युज लेख्दैन,” सम्भवले भिडियोमा भनेका छन्, “व्यवस्थापनले समाचार लेख्दैन, सम्पादकीय स्वतन्त्रता छ । उहाँले त्यो बुझ्नु भएन । गृहमन्त्रीको अनुरोधमा कान्तिपुरले सेटिङ नगरेको भएर उहाँ फेरि तल्लोस्तरमा ओर्लनुभयो । आफ्नो शक्ति दुरूपयोग गर्दै झुटाे केस लगाएर कान्तिपुरका अध्यक्ष मेरो बुबा कैलाश सिरोहियालाई पक्राउ गर्नुभयो ।”
सम्भवले बुवा कैलाशले वंशजको नागरिकता पाएको विषयमा कारण बताएका छन् । ९ भाइ छोरामध्ये कैलाश कान्छो रहेको र उनका दाजुहरूले नागरिकता पाउँदा हजुरबुवाले नागरिकता नै नपाएको भन्दै पछि हजुरबुवाले नागरिकता लिएपछि बुवा कैलाशले वंशजको आधारमा नागरिकता प्राप्त गरेको सम्भवको दाबी छ । ‘आज उहाँले लगाउनु भएको झूटो आरोपको सत्य बताउन चाहन्छु। कैलाश सिरोहिया, हामीजस्तै नेपालमा जन्मिएको, हुर्किएको नेपाली नागरिक हो। उहाँ जन्मँदा उहाँको बुवा नेपाली नागरिक भएको भएर उमेर पुगेपछि हामीजस्तै उहाँले प्रमुख जिल्ला अधिकारीको कार्यालय गएर नागरिकता प्राप्त गर्नुभएको हो,’ उनले भने ।
‘कैलाश सिरोहियाका दाइहरूले अर्कै क्याटेगोरीको नागरिकता पाएका छन् । उहाँले अर्कै क्याटेगोरीको पाउनुभयो। गृह मन्त्रालयको नियम गृहमन्त्री आफैले बुझ्नुपर्ने हो। दाइहरू जन्मँदा हजुरबुवाले नागरिकता प्राप्त गर्नुभएको थिएन। नौ जना मध्येका कान्छा छोरा कैलाश जन्मँदा हजुरबुवाले नेपाली नागरिकता प्राप्त गरिसक्नुभएको थियो। यति सामान्य कुरालाई के–के न जस्तो हल्ला गरियो,’ उनले भनेका छन्।
प्रहरीले नागरिकता प्रकरणमा अध्यक्ष सिरोहिया गत जेठ ८ गते पक्राउ गरेको थियो । कैलाशलाई जिल्ला सरकारी वकिलको कार्यालयबाट अनुमति लिएर धनुषा प्रहरीले जेठ १६ गते हाजिर जमानीमा छाडेको थियो । कैलाशको पक्राउलाई गृहमन्त्री लामिछानेले प्रतिशोध राखेर पक्राउ गरिएको भन्दै आलोचना भएको थियो ।





प्रतिकृया दिनुहोस्