May 4, 2026, Monday
२०८३ बैशाख २२

पढाउन भन्दै २९ बालबालिकालाई काठमाडौं लैजाँदै गरेका व्यक्ति प्रहरी नियन्त्रणमा

सुर्खेत । पढाउन भन्दै २९ जना बालबालिकालाई काठमाडौं लैजाँदै गरेको अवस्थामा सुर्खेत प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । सोमबार राति १२ बजे वीरेन्द्रनगरस्थित तीनकुने चोकबाट नाम्गेल छिरिङलाई सुर्खेत प्रहरीले पक्राउ गरेको हो।

मुगु र हुम्लाबाट बालबालिका ल्याएर काठमाण्डौं लैजाँदै गर्दा सोमबार राति १२ बजेतिर वीरेन्द्रनगरको तीनकुने चोकबाट नाम्गेल छिरिङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको हो ।

बालबालिकाका आमाबुवाको सहमति र केही वडा कार्यालयको सिफारिसमा बालबालिकालाई काठमाडौं लैजाँदै गरेको भएपनि अन्य आवश्यक कागजपत्र नपुगेको कारण बालबालिकालाई लैजाँदै गरेका छिरिङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी वीरेन्द्रविर विश्वकर्माले बताए ।

नियन्त्रणमा लिइएको छिरिङले बालबालिकालाई पढाउनको लागि बौद्धमा लैजान लागेको बताएका छन् । प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । २९ जनामा १७ बालिका र १२ बालक छन् ।

आर्थिक अवस्था कमजोर भएकाले उनीहरूलाई काठमाडौंमा आवाससहितको शिक्षा दिने भनेर लैजान लागेको बयान छिरिङले दिएको प्रहरीले जनाएको छ ।

काठमाडौंको कुन शिक्षालयमा अध्ययनका लागि लैजान लागेको भन्ने कुराचाहिँ नखुलेको विश्वकर्माले बताए। अनुसार धेरैजसो बालबालिकालाई सम्बन्धित वडा कार्यालयले पनि सिफारिस पनि बनाइदिएका छन्। बालबालिका कुन पालिका र कति नम्बर वडाका हुन् भन्ने विषयमा भने प्रहरीले खुलाएको छैन। यस विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।