सर्वोच्चको परमादेशपछि पाण्डे गण्डकीको मुख्यमन्त्रीमा नियुक्त, मुख्यमन्त्रीसँगै २ मन्त्रीले शपथ लिँदै

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । सर्वोच्चको परमादेशपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
सर्वोच्च अदालतले खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै पाण्डेलाई नै मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । सोहीअनुसार फैसलापछिको पत्र बुधबार गण्डकी प्रदेशको प्रदेश प्रमुख कार्यालयमा पुगेको थियो ।
सोमबार सर्वोच्चले कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो ।
सर्वोच्चको परमादेशपछि मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँगै दुई मन्त्रीले शपथ लिने भएका छन् । स्रोतका अनुसार दलका उपनेता विन्दुकुमार थापा र लमजुङका सांसद डा.टेकराज गुरुङ मन्त्री बन्न लागेका हुन् ।
उनीहरूको मन्त्रालय टुङ्गिएको छैन । थापालाई सामाजिक विकास र उर्जा तथा गुरुङलाई अर्थमन्त्री बनाउने सम्भावना श्रोतको भनाई छ ।





प्रतिकृया दिनुहोस्