तराईमा शुक्रबारसम्म तातो हावा चल्ने, मौसमविद् भन्छन्- यस्ता उपाय अपनाउनू

काठमाडौँ । मौसमविद्ले तराईमा आजदेखि ३ दिनसम्म तातो हावा चल्ने बताएका छन् । जेठ १६ देखि पर्सि जेठ १८ सम्म तराई क्षेत्रमा अत्यधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन समेत मौसमविद्ले सुझाव दिएका छन्।
केही दिनयता सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागमा गर्मी बढेको छ। यी प्रदेशका केही स्थानमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस र सो भन्दा बढी मापन गरिएको छ । अझै केही दिन तापक्रम बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आगामी ३ दिनसम्म तराईका भू-भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेको विभागको भनाइ छ । त्यसैले यसबाट जोगिन आवश्यक तयारी गर्न विभागले आग्रह गरेको छ ।
तराईका भू–भागहरूमा आगामी ३ दिन जेठ १८ गतेसम्म तातो हावाको सम्भावना रहेकाले यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले सचेत हुन भनेको छ ।
सम्भावित असर
तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्छ।
बच्ने उपाय
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी एक्सपोज नहुने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी संग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिने।





प्रतिकृया दिनुहोस्