सहकारी ठगी प्रकरण : कार्यादेशमा सहमति जुटाउन शीर्ष नेताहरू फेरि बालुवाटारमा

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको कार्यादेशमा सहमति जुटाउन शीर्ष नेताहरू फेरि बालुवाटार पुगेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरू छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्।
सोमबार बिहान बसेको बैठक बिनानिष्कर्ष टुंगिएपछि कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा करिब तीन घन्टा पदाधिकारी र पूर्वपदाधिकारीहरूबीच आन्तरिक छलफल गरेपछि नेताहरू बालुवाटारतर्फ लागेका हुन्।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको कार्यादेशमा सहमति जुटाउन कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, नेताहरू कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की बालुवाटार पुगेका छन् ।
बिहानको बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी कांग्रेस र सत्ता पक्षीय दलका नेताहरुसँग संसदीय समिति गठनका लागि भइरहेको प्रयास, सहमति जुट्न नसक्नुको कारण बारे छलफल गरेका थिए ।
प्रधानमन्त्रीसहित सत्तापक्षका शीर्ष नेताहरुसँगको बिहानको छलफलमा कांग्रेस लचिलो भएर प्रस्तुत भएको सहमहामन्त्री तथा कार्यदल सदस्य परियारले जानकारी दिएका थिए ।
उनले जेठ १५ गते बजेट ल्याउनु पर्ने भएकाले कांग्रेस सत्तापक्षसँग लचिलो भएर प्रस्तुत भएको तर सत्ता गठबन्धनकै एमाले र रास्वपा सकारात्मक नदेखिएपछि सहमति नहुन नसकेको पनि प्रतिक्रिया दिएका थिए ।
‘सेफ ल्यान्डिङ गरेर जाऔँ । भोलि संसदमा बजेट प्रस्तुत गर्ने दिन छ, यस कारणले आज साँझसम्म टुंग्याऊँ भनेर हामी अलि लचिलो भएर अगाडि बढेका छौँ,’ बालुवाटारबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरुसँग भनेका थिए ।
प्रतिपक्षसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले सत्तापक्षसँग बसेर धारणा बनाउने र साँझसम्म टुंग्याउने बताएको सहमहामन्त्री परियारको भनाइ थियो ।
‘प्रधानमन्त्रीज्यूले दुवैतर्फको राय लिनुभएको छ । हामीले भनेको कुराहरु सत्तापक्षसँग राख्दै हुनुहुन्छ । उताबाट आएको कुरा हामीसँग राख्नुहुन्छ,’ परियारले भनेका थिए, ‘प्रधानमन्त्रीज्यूले सत्ता पक्षसँग बसेर धारणा बनाउँछौँ, साँझसम्म बसेर अन्तिम टुंगोमा पुर्याउँछौँ भन्नुभएको छ ।’
सत्तारुढ दलका शीर्ष नेताहरूसँग कुरा नमिलेपछि कांग्रेसले दिउँसो सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारी बैठक डाकेर आन्तरिक छलफल गरेको थियो ।
कांग्रेससँग सहमति नजुटेपछि सत्तापक्षका नेताहरुले बालुवाटारमै आन्तरिक छलफल गरेका थिए । आन्तरिक छलफल गरेर बालुवाटारबाट बाहिरिने क्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएका आधारहीन लाञ्छनाप्रति कांग्रेसले लिखित क्षमायाचना र सार्वजनिक रुपमा माफी माग्नु पर्ने बताएका थिए ।
‘कांग्रेसले नेकपा एमालेविरुद्ध, श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीविरुद्ध जुन प्रकारका अराजनीतिक पूर्वाग्रहीपूर्ण आरोप लगाइरहेको छ,’ उनले भनेका थिए, ‘कांग्रेसले यो आरोपका प्रति लिखित रुपमा क्षमायाचना गर्नु पर्दछ । सार्वजनिक माफी माग्नु पर्दछ ।’
पौडेलले कांग्रेस सहमतिको पक्षमै नभएको पनि दाबी गरेका थिए । उपाध्यक्ष पौडेलले कांग्रेसले आफ्नो अभिव्यक्ति फिर्ता नलिए प्रतिवादमा उत्रिनेसमेत चेतावनी दिएका थिए ।
‘कांग्रेस कुनै सहमतिको पक्षमा छैन भन्ने कुरा पछिल्ला घटनाक्रमहरूले संकेत गरिरहेका छन् । अनुचित र पूर्वाग्रह आरोप लगाउँदै राष्ट्रिय राजनीति बिथोल्न लागेको छ,’ उनले भने, ‘एमालेविरुद्ध प्रतिशोधपूर्ण आधारहीन आरोप लगाउँदै हिँडेको छ । यस्तो लाञ्छनाबाट पछि हट्न आवश्यक छ। कांग्रेसले अभिव्यक्ति फिर्ता लिँदैन भने हामी प्रतिवादमा उत्रिन्छौँ ।’





प्रतिकृया दिनुहोस्