May 4, 2026, Monday
२०८३ बैशाख २२

गृहमन्त्रीलाई कांग्रेसले दियो आरोप प्रमाणित गर्न चुनौती, होइन भने सदनबाट गलहत्याउन हामी चुक्ने छैनौं- पाण्डे

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई नेताहरूमाथि लगाएका आरोप प्रमाणित गर्न चुनौती दिएका छन्।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेबाट समय लिई बोलेका सांसद पाण्डेले गृहमन्त्री लामिछानेले सदनबाटै नेताहरूलाई लगाएका आरोप सत्य हो भने प्रमाणित गरेर देखाउन भनेका हुन्।

‘उहाँले लगाएका आरोपहरू यदि सत्य हुन् भने प्रमाणित गरेर देखाउन सभामुखको रूलिङ चाहियो,’ उनले भने, ‘होइन भने संसदको रेकर्डबाट हटाउन पनि आग्रह गर्न चाहन्छु।’

सांसद पाण्डेले कांग्रेसका उपसभापति र महामन्त्रीमाथि गृहमन्त्रीले लाञ्छना लगाएको पनि बताए। ‘म चुनौती दिन चाहन्छु गृहमन्त्री र सिंगै सरकारलाई। के कस्तो खालको कार्यादेश बनाउनुपर्ने हो बनाउनुस्। हाम्रो उपसभापति र महामन्त्रीको नाम किटेरै कार्यक्षेत्रमा लेख्नुपर्ने हो लेख्नुस्, छानबिन समय तोक्नुस्। उपसभापति र महामन्त्री दोषी हुनुभयो भने कांग्रेसका को कोलाई कारबाही गर्नुपर्ने हो गर्नुस्,’ उनले भने।

राष्ट्रिय सूचना बेच्ने एजेन्ट यही सदनमा रहेको गृहमन्त्री लामिछानेले अभिव्यक्ति दिएको छन्, ‘गृहमन्त्रीजी को हो त्यो सूचना बेच्ने एजेन्ट तपाईं देखाउनुस्, उसलाई यो सदनबाट गलहत्याउन तपाईंको साथमा हामी लाग्नेछौं,’ उनले भने, ‘होइन तपाईं निराधारा आरोप लगाउँदै हुनुहुन्छ भने गृहमन्त्रीज्यू तपाईंलाई यो सदनबाट गलहत्याउने कामबाट पनि हामी चुक्ने छैनौं।’

‘लाखौं सहकारी पीडितलाई न्याय दिने कर्तव्यबाट हामी कदापि च्युत हुने छैनौँ । देशै भरका सहकारी पीडितलाई म आश्वस्त पार्न चाहन्छु बचतकर्ताको बचत फिर्ता नभएसम्म हाम्रो लडाईले विश्राम पाउने छैन, उनले भने– सहकारी बचत ठगी प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठन हुनुपर्छ।

‘गृहमन्त्रीको संलग्नताको दाबी सम्पूर्ण हिसाबले पुष्टि भएको छ। यस्तै खालको अभियोग भोगिरहेका सांसद गीता बस्नेतमाथि पक्राउ पुर्जी जारी भएको हामीले सुनेका छौं,’ उनले भने, ‘यही सदनका सांसदहरू, एकै अभियोग। एक जना पक्राउ पुर्जी जारी भएर फरार सूचीमा अर्का गृहमन्त्री हुनुपर्ने कस्तो न्याय हो कस्तो बिडम्बना हो?’राप्रपा सांसद गीता बस्नेतलाई जस्तै गृहमन्त्रीमाथि पनि पक्राउ पुर्जी जारी हुनुपर्ने उनले बताए।

संसदीय छानबिन समितिको सैद्धान्तिक सहमति भएपनि टिओआरका विषयमा कुरा नमिलेको हामी सबैले थाहा पाएका छौं । पछिल्लो दिनमा समाचारहरू झन् प्रकट ढङ्गले आइरहेका छन् । स्वर्णलक्ष्मी, सूर्यदर्शन पोखरा लगायतका सहकारीबाट गोर्खा मिडिया नेटवर्कले करिव १ अर्ब ऋण लिएको छ । त्यो ऋण तिनै ४ वटा सहकारीबाट लिएको हो ।’