सरकारले संसद्मा बलमिच्याइँ र तानाशाही प्रबृत्ति देखायो, सभामुखको भूमिका पदीय गरिमाअनुकूल भएन : कांग्रेस

काठमाडौँ । कांग्रेसले प्रतिनिधि सभामा सरकारले बलमिच्याइँ र तानाशाही प्रबृत्ति र सभामुखको भूमिका पदीय गरिमा अनुकूल नभएको ठहर गरेको छ । प्रतिनिधिसभा अवरोधकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएपछि बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो ठहर गरेको हो ।
विपक्षी दलहरूले वेल घेराउ गरेको अवस्थामा संसद्को बैठक अगाडि बढाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि कांग्रेस संसदीय दलको बैठक बसेको थियो ।
बैठकपछि पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सरकारले संसदीय मुल्य मान्यताको खिलाफमा गएको बताए । ‘नेपालको संसदीय मान्यतामा पनि संसद् विपक्षको हुन्छ भन्ने मान्यता स्थापित छ । आज सभामुखले विपक्षीलाई बोल्न दिनुभएन । बहुमतको सत्ताक पक्षको दम्भ देखियो । सत्तापक्ष असहिष्णु भयो संदसीय मुल्यमन्त्यताको खिलाफमा उभियो’ प्रमुख सचेतक लेखकले भने,’हामी सरकारलाई लोकतन्त्रका मुल्यमान्यता विपरीत नजान चेतावनी दिन्छौं ।’
संसद् विपक्षीको हुन्छ भन्ने मान्यता पनि स्थापित रहेको उनको भनाइ छ । ‘आजको प्रतिनिधि सभा बैठकमा विपक्षी दलले पटक–पटक बोल्न माग गर्यौँ । तर सभामुखजीले हामीलाई बोल्ने अवसर दिनुभएन । सदनमा बोल्न विपक्षी दलले प्राथमिकता पाउँछ, यो संसारभरको चलन हो,’ उनले भने ।
सभामुखको भूमिका पदीय गरिमाअनुकूल नभएको भन्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने- ‘कुनै एउटा पार्टी विशेषको कार्यकर्ताका रूपमा प्रस्तुत हुने कुरा सभामुखका लागि शोभनीय हुन्न ।’
बैठकले सभामुखलाई संसदीय परम्परा जोगाउन, सभामुखको मर्यादा कायम राख्दै भूमिका निर्वाह गर्नसमेत आग्रह गर्ने निर्णय गरेको प्रमुख सचेतक लेखकले बताए ।
संसद्लाई ब्यारेकजस्तो गरेर विश्वासको मत लिने काम भएको उनले बताए । सोमबार प्रतिनिधि सभामा विपक्षीको नाराबाजीबिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वास मत लिएका थिए ।
कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्ना नेताहरूमाथि लगाएको आरोप छानबिन गरी प्रमाणित गर्न चुनौती दिइएको छ। “उहाँ (रवि लामिछाने)ले हिजो जसरी नेपाली कांग्रेसलाई लाञ्छित गर्नुभयो, जसरी कांग्रेसका नेताहरूमाथि प्रश्न उठाउनुभएको छ, हामी चुनौतीपूर्वक भन्न चाहन्छौँ– तपाईं छानबिन गर्नुस्, अनुसन्धान गर्नुस् र प्रमाणित गर्नुस् । सरकारको यो काम हो, प्रश्न सोध्ने काम होइन,” प्रमुख सचेतक लेखकले भने ।
आरोप प्रमाणित गर्न नसके आउँदा दिनमा त्यसको परिणाम पनि गृहमन्त्रीले नै भोग्नुपर्ने कांग्रेसले चेतावनी दिएको छ । “तपाईंले जुन गम्भरी लाञ्छना गर्नुभएको छ, यदि त्यो भोलिका दिनमा प्रमाणित गर्न सक्नु भएन भने भोलिका दिनमा के हुन्छ, व्यहोर्नुपर्ला,” उनले भने ।
यस्तै उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आइतबार अशिष्ट, असभ्य, भ्रामक, कपोलकल्पित र हिंस्रक अभिव्यक्ति दिएको उनले बताए । ‘टिभीको स्किर्नमा देखिनु भएको रवि लामिछाने र नेपाल सरकारको उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने फरक देखिए पनि सारमा कुनै फरक देखिएन । उहाँले कुन ठाउँमा हुँदा प्रश्न गर्ने हो ? कुन ठाउँमा हुँदा जवाफ दिने हो भन्नेसम्म पनि थाहा रहेन छ । हामीले त्यस्तो उपप्रधानमन्त्री पाएछौँ । सरकारले प्रश्न गर्ने होइन, जवाफ दिने हो । काम गरेर देखाउने हो । त्यसले उहाँको प्रस्तुति अशिष्ट, असभ्य, भ्रामक, कपोलकल्पित र हिंस्रक भएको भनेका छौँ,’ उनले भने ।





प्रतिकृया दिनुहोस्