May 4, 2026, Monday
२०८३ बैशाख २२

जरुरी परे १०-१२ पल्ट विश्वासको मत लिन्छु, कांग्रेसले अर्को चुनावमा देख्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आवश्यक परेमा १०-१२ पल्ट विश्वासको मत लिने बताएका छन् । उनले विश्वासको मत लिएपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै यस्तो बताएका हुन् ।

“जरुरी परे १०–१२ पटक विश्वासको मत लिन्छु,” उनले भने, “नेपालमामात्रै होइन विश्वको मत लिन्छु । कांग्रेसले अर्को चुनावमा देख्छ ।”

विश्वास मत पाएपछि संघीय संसद भवन परिसरमा पत्रकारहरूले कांग्रेसले कस्तो मूल्य चुकाउनुपर्ने हो भन्ने प्रश्न गरेका थिए। त्यसमा जबाफ दिएका प्रधानमन्त्री दाहालले भने, ‘आउने चुनावमा देखिन्छ।’

प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधि सभा बैठकमा विश्वास मतमाथिको छलफल उठेका विषयमाथि जबाफ दिँदै नेपाली कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्ने अभिव्यक्ति दिएका हुन।

प्रधानमन्त्री रोस्टममा उभिएर बोलिरहँदा प्रमुख प्रतिपक्षी कांग्रेसले वेल घेराउ र नाराबाजी गरिरहेको थियो। सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गरिरहेको थियो।

यसैबीच प्रधानमन्त्री दाहाललाई सत्तापक्षकै दलहरुसँग पनि विश्वास नभएको देखिन्छ । सरकारमै रहेको नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले सरकारको विरोध जारी राखेको र जुनसुकै बेला सरकारबाट बाहिरिन सक्ने देखिएका कारण पनि उनले छिटो विश्वासको मत लिन चाहेको एक नेताको टिप्पणी छ ।

उता नेकपा एमालेका नेता विष्णु पौडेलले भने कांग्रेस सरकारबाट बाहिरिनुको छटपटाहट भएको टिप्पणी गरे ।

“सरकार परिवर्तनको कुरा माकुराको जालोजस्तै च्यातिएपछि कांग्रेस छटपटिएको हो,” उनले भने, “प्रतिपक्षको व्यक्त धारणा त्यही हो । यसलाई बुझ्न कठिनाइ पर्दैन ।” 

कांग्रेसले भने यसलाई अदालतलाई प्रभाव पार्ने काम भनेको छ । कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारको पछिल्लो काम अदालतलाई प्रभावमा पार्ने गरी आएको टिप्पणी गरे । माधवकुमार नेपालले पनि समर्थन फिर्ता लिने तयारी गरेको थाहा पाएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन हतार गरेको उनको टिप्पणी छ ।