May 4, 2026, Monday
२०८३ बैशाख २२

विपक्षीलाई वेलमा घेरेर प्रधानमन्त्री प्रचण्डले लिए विश्वासको मत

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत लिएका छन् । विपक्षी दलका सांसदहरुलाई वेलमा घेरेर प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् ।

तेस्रो कार्यकालमै प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत लिएका हुन् । आजको प्रतिनिधि सभाको बैठकमा १५८ सांसद उपस्थित थिए । जसमध्ये विश्वासको मतको पक्षमा १५७ मत परेको छ । विपक्षमा शून्य र मत दिन्नँ भन्ने पक्षमा १ मत परेको छ ।

नेपाली कांग्रेससहितका प्रतिपक्षी दलले प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदा मतदान बहिष्कार गरेको छ ।

कांग्रेससहित राप्रपा, जसपा नेपाल, लोसपा नेपाल र राष्ट्रिय जनमोर्चा मत विभाजन प्रक्रियामा सहभागी भएन । प्रधानमन्त्रीले विश्वासको मत लिने पूरै प्रक्रियाभर कांग्रेससहितका विपक्षी दल नाराबाजीमा रहे भने सभामुखले मत विभाजन गर्दा विपक्षीले भोट हालेनन् ।

सत्ता पक्षका सांसदले भोट हाल्दा प्रधानन्त्रीको पक्षमा १५७ मत पर्‍यो ।  यो मत बहुमत भएसँगै उनले विश्वासको मत पाएको घोषाणा सभामुखले गरे । 

संसद बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरु आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । सभामुखले बस्न आग्रह गरे पनि उनीहरुले मानेनन् । बरु वेल घेराउ गर्दै नाराबाजी गरे । उनीहरुले नाराबाजी जारी राखेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि संसद बैठक स्थगित गरेका थिए ।

त्यसपछि सुरु भएको बैठकमा पनि कांग्रेससहितका विपक्षी दलहरुले नाराबाजी जारी राखे । विरोधका बीच सभामुख घिमिरेले विश्वासको मतको प्रस्ताव राख्न प्रधानमन्त्री प्रचण्डलाई अनुमति दिए । विश्वासको मतको प्रस्तावमा समर्थन जनाउँदै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मात्र बोले ।

त्यसमा जवाफ दिने प्रक्रिया पूरा गरेपछि सभामुख घिमिरेले मतदानको प्रक्रिया अघि बढाएका थिए । वेलसम्म पुगेका विपक्षी दलहरुलाई मर्यादापालकले चारैतिरबाट घेरेर राखेका थिए । विपक्षी दलहरुले वेल घेरेका कारण प्रधानमन्त्री प्रचण्ड भिड छिचोल्दै रोष्टमसम्म पुगेका थिए । रोष्टमबाट प्रधानमन्त्री प्रचण्डले आक्रोश व्यक्त गर्दै कांग्रेसको यो गतिविधि कलंकको रुपमा स्थापित हुने जिकिर गरे ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईंहरु (नेपाली कांग्रेस) ले आज बहुत गलत गर्नुभयो भन्ने मलाई लागेको छ ।’ ‘नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले तपाईंहरुलाई पटक–पटक साथ दियो । र, यो पटक पनि जुन प्रधानमन्त्रीले तपाईंहरुलाई संवाद र सहमतिको बाटोमा ल्याउन मेहनत गरेको छ त्यसलाई संविधान अनुसार विश्वासको मत लिन नदिएर तपाईंहरुले इतिहासमा एउटा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो म त्यसका निम्ति गहिरो दुःख व्यक्त गर्दछु । र, तपाईंहरु नेपाली कांग्रेसका लागि मूल्य धेरै चर्को पर्नेछ । आजको यो तपाईंहरुको गतिविधि नेपालको इतिहासमा राम्रैसँग कलङ्कको रूपमा स्थापित हुनेछ । र, मेरो विश्वासको पक्षमा समर्थन गर्ने नेकपा एमालेका माननीय विष्णु पौडेल लगायत सबै माननीय र संसदीय दललाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मतको प्रस्ताव पेश गर्न सभामुखले समय दिएपछि नेपाली कांग्रेसका सांसदहरूले बेल घेराउ र नाराबाजी गरेपछि प्रधानमन्त्री मर्यादा पालकको घेरामा रोष्टममा पुगेका थिए । प्रधानमन्त्रीले प्रस्ताव पेश गरेपछि एमाले नेता विष्णु पौडेलले प्रस्तावको पक्षमा धारणा राखेका थिए । 

प्रधानमन्त्रीले विश्वासको मत लिएसँगै मंगलबार ११ बजेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिएका हुन् । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्दछ ।

जनता समाजवादी पार्टी, नेपालले वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । यसअघि प्रधानमन्त्री दाहालले फागुन ३० गते विश्वासको मत लिएका थिए । तेस्रो पटक विश्वासको मत लिँदा प्रचण्डले पक्षमा १५७ सांसद थिए ।

२०७९ मंसिरको प्रतिनिधिसभा निर्वाचनपछि दाहाल नेतृत्वमा २०७९ पुस १० मा सरकार गठन भएको थियो । एमाले, रास्वपा, राप्रपा, जसपालगायत दलहरू संलग्न सरकारको नेतृत्व गर्दै दाहालले पहिलो पटक प्रतिनिधिसभाबाट २०७९ पुस २६ मा विश्वासको मत लिएका थिए । त्यतिबेला प्रतिपक्षको बेन्चमा बसेको कांग्रेससमेतले प्रचण्डलाई विश्वासको मत दिएको थियो ।