संसदीय छानबिन समितिको कार्यदल बैठक जारी, कार्यादेश टुंगो लगाउने

काठमाडौं । सहकारीको बचत अपचलन छानबिन गर्न गठित संसदीय समितिको कार्यादेश टुंग्याउन आज बैठक बसिरहेको छ । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक कानुन मन्त्रालयमा जारी रहेको हो ।
कार्यादेश टुंग्याउने जिम्मा पाएको कार्यदलको बैठक बिहान साढे ८ बजे देखी कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले जानकारी दिएका हुन।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तापक्ष, नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीका बीचमा शनिबार सहकारीको बचत अपचलनबारे छानबिन गर्न संसदीय समिति बनाउने सैद्धान्तिक सहमति भएको थियो। तर समितिको कार्यादेश टुंगो लागेको छैन ।
कार्यादेश टुंगो लगाउन नेकपा एमालेका नेता एवम् कानुनमन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल गठन गरिएको छ । समितिमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य छन् ।
सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समेतको संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राखेको थियो। उसले संघीय संसद्को कामकारबाही पनि अघि बढाउन दिएको थिएन।
कांग्रेसको अवरोधकै कारण संसद बर्खे अधिवेशन सुरू भएयता नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन। यद्यपि गत जेठ १ गते सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भने प्रस्तुत गरिसकेको छ।
प्रमुख प्रतिपक्षी कांग्रेसको माग सम्बोधन भएकाले सदनको गतिरोध आइतबारबाट अन्त्य हुने विश्वास गरिएको छ।





प्रतिकृया दिनुहोस्