May 5, 2026, Tuesday
२०८३ बैशाख २२

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, श्रमजिवी वर्ग राज्य विकासका आधार हुन्: प्रधानमन्त्री

काठमाडौँ । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइँदैछ । सन् १८८१ मे १ मा अमेरिकामा भएको आम हडतालको स्मरणमा यो दिवसको थालनी भएको हो ।

विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा यस दिवसलाई लिने गरेका छन् ।

मर्यादित काम र मुनासिब ज्यालाको अधिकार स्थापनाका लागि हालसम्म भएका आन्दोलन र उपलब्धिलाई यस दिवसले स्मरण गराउँदै मजदुरका पक्षमा लाग्न प्रेरित गर्नेछ ।

नेपालको संविधानले नागरिकको रोजगारीको हक सुनिश्चित गरी प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत प्रत्याभूत गरेको छ ।

मजदूर दिवसका अवसरमा संयुक्त ट्रेड युनियन समन्वय कमिटीले आज भृकुटीमण्डपमा प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख अतिथ्यमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमजिवी वर्ग राज्यको बहुआयामिक विकासका आधार रहेको बताएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले श्रमजिवी वर्गको हकहित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा समानता, स्वाभिमान, सामाजिक न्याय र समृद्धि सम्भव नहुने बताएका हुन्।

‘यही यथार्थलाई आत्मसात गरेर नै नयाँ संविधानमा श्रमिकको हितलाई प्रत्याभूति गरिएको छ । उक्त संवैधानिक व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु नै हाम्रो वर्तमानको महत्वपूर्ण कार्यभार हो,’ शुभकामना सन्देशमार्फत प्रधानमन्त्री प्रचण्डले भनेका छन्।

प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानमा श्रम सम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको र श्रमिकलाई उचित श्रम अभ्यासको हकसहित आफ्नो हितरक्षाका निमित्त ट्रेड युनियन खोल्ने, सङ्गठित हुने र सामूहिक सौदावाजी गर्ने हकलाई प्रत्याभूत गरिएको बताए।

श्रम सम्बन्धी हक र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको विधान तथा नेपालले अनुमोदन गरेका अभिसन्धिहरूप्रति समेत सरकार प्रतिवद्ध रहेको पनि प्रधानमन्त्री प्रचण्डले बताएका छन्।

सरकार युवा एवं बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारीको पर्याप्त अवसर उपलब्ध गराई उनीहरूको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउन निरन्तर क्रियाशील रहेको उनले सन्देशमा उल्लेख गरेका छन्।

‘स्वदेशमा रोजगारीको पर्याप्त अवसर नभएसम्म रोजगारीको महत्वपूर्ण माध्यमको रूपमा रहेको वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउनुपर्छ,’ शुभकामना सन्देशमा भनिएको छ।

नेपाल सरकारले श्रमिकहरूको हितरक्षालाई केन्द्रमा राख्दै विदेशमा रहेका नेपालीहरू, सरकारी, अर्धसरकारी र सामाजिक क्षेत्रमा क्रियाशील श्रमिकहरूका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरी प्रभावकारी कार्यान्वयनसमेत गरिरहेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए।