May 5, 2026, Tuesday
२०८३ बैशाख २२

कर्णालीका नवनियुक्त मन्त्रीले लिए शपथ, मुख्यमन्त्रीप्रति असन्तुष्टि जनाउँदै शाह भने उपस्थित भएनन्

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरूलाई प्रदेश प्रमुख तिलक परियारले मंगलबार सत्तारुढ दल नेकपा माओवादी केन्द र नेकपा एमालेबाट तीन/तीन जना नयाँ मन्त्रीलाई शपथ खुवाएका हुन् ।

कर्णाली प्रदेशमा नयाँ थपिएका एक राज्यमन्त्रीसहित पाँच मन्त्रीले शपथ लिएका हुन्। शपथ लिनेमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री वीरबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्ग रावत रहेका छन् । 

यस्तै राज्यमन्त्री गोमता विकले पनि शपथ लिने भएकी छन् । कृषि मन्त्रीमा नियुक्त भएका विनोद कुमार शाह भने शपथ ग्रहणमा उपस्थित भएका छैनन् ।

प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । ।

दलभित्र कुनै छलफल नगरी मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रीहरूको नाम सिफारिस गरेको भन्दै शाह शपथमा सहभागी नभएका उनी निकट स्रोतले बतायो।