इलाम २ मा सुहाङ विजयी, रास्वपा उम्मेदवारसहित १६ जनाको धरौटी जफत

धनगढी। इलाम क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङ विजयी भएका छन्। उनी २७ हजार ७७२ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याएका छन्। खड्काभन्दा सुहाङ ५ हजार ७ सय ८० मतान्तरसहित विजयी भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू ५ हजार ५० मत प्राप्त गरेका छन्।
अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा एवं संविधान सभाका अध्यक्ष एमाले नेता सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए। उनको गत वर्ष भदौमा निधन भएपछि रिक्त रहेको उक्त स्थानमा वैशाख १५ गते उपनिर्वाचन भएको थियो।
रास्वपा उम्मेदवारसहित १६ जनाको धरौटी जफत
इलाम-२ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा १६ जना उम्मेदवारको धरौटी जफत भएको छ । इलाम-२ मा रास्वपा उम्मेदवार मिलन लिम्बू, एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राई, राप्रपा उम्मेदवार लक्ष्मी गुरुङ र मंगोल नेसनल अर्गनाइजेसनका उम्मेदवार मनिबहादुर लिम्बूसहित १६ जनाको धरौटी जफत भएको हो ।
आफ्नो क्षेत्रमा खसेको मतमध्ये कुल सदर मतको १० प्रतिशत मत नकटाउने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था रहेको छ । इलाम-२ मा ६९ हजार ३ सय ७४ मत खसेकोमा ६८ हजार ४ सय ७२ मत सदर भएको थियो । त्यसअनुसार धरौटी जोगाउन कम्तीमा ६ हजार ८ सय ४७ मत ल्याउनुपर्थ्यो । रास्वपाका मिलन लिम्बूले ५ हजार ५० मत मात्र प्राप्त गरे । त्यस्तै मंगोल नेसनलका मनिबहादुर लिम्बूले ८ सय १६ मत ल्याए । त्यस्तै एकीकृत समाजवादीका जितबहादुर राईले ४ सय ८ मत ल्याउँदा राप्रपाका लक्ष्मी गुरुङले ४ सय ४ मत प्राप्त गरे ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन,२०७४ अनुसार प्रतिनिधिसभा सदस्यका लागि १० हजार र प्रदेशसभा सदस्यका लागि ५ हजार रुपैयाँ धरौटी जम्मा गर्नुपर्नेछ । तर महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा पचास प्रतिशत छुट हुनेछ ।
बझाङ प्रदेशसभामा एमालेका भण्डारी विजयी
बझाङ प्रदेश १ को उपनिर्वाचनमा एमालेका दमन भण्डारी विजयी भएका छन् । उपनिर्वाचनअन्तर्गत बझाङ प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार भण्डारी विजयी भएका हुन् ।
नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६६ मतले पराजित गर्दै भण्डारी विजयी भएका हुन् । एमालेका भण्डारीले ११ हजार ६१२ मत प्राप्त गरेका हुन भने कांग्रेसका सिंह ११ हजार ३४३ मत ल्याए ।
यहाँ नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ८३१ मत प्राप्त गरेका छन भने नेकपा एसका दिलबहादुर सिंहले २ हजार ५१४ मत प्राप्त गरेका छन् ।





प्रतिकृया दिनुहोस्