May 5, 2026, Tuesday
२०८३ बैशाख २२

इलाम-२ मा सुरु भयो मतगणना, २-२ घण्टामा मतपरिणाम अपडेट गराइने

इलाम । प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनको मतगणाना सुरु भएको छ । सरोकारवाला निकायसहित बसेको सर्वदलीय बैठकको निर्णय अनुसार गौतम बुद्ध सभागृह (सिटी हल) मा मतगणना सुरु गरिएको हो ।

आइतबार बिहान बसेको सर्वदलीय बैठकले पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाको मतपत्रबाट गणना सुरु गर्ने निर्णय गरेको छ ।

फाकफोकथुम गाउँपालिकाको ७ वडामा ९ हजार ७ सय ४ मत खसेको छ । फाकफोकथुकको गणनापछि दक्षीण इलामको चुलाचुली, माङ्सेबुङ, माई, देउमाईपछि अन्तिममा इलाम नगरपालिकाको मत गनिने मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जनाए। उनले सोमबार बेलुकासम्म अन्तिम परिणाम आउन सक्ने बताए । उनले भने,’बढीमा ३६ घण्टाभित्र फाइनल नतिजा सार्वजनिक गर्ने गरी गणना हुँदैछ।’

मतगणनाको अपडेट दुई-दुई घण्टामा सार्वजनिक गर्ने निर्वाचन कार्यालयले जनाएको छ । मतगणनास्थल इलाम नगरपालिकास्थित गौतम बुद्ध टाउन हलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

शनिबार सम्पन्न निर्वाचनमा जम्मा ६९ हजार २ ८७ मत खसेको थियो । कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको यो क्षेत्रमा इलाम नगरपालिकाको ११ वटा वडावाट २० हजार ६ सय ६५ मत खसेको थियो ।

देउमाई नगरको ९ वटामा १५ हजार ९ सय ८० मत खसेको थियो । माङ्सेबुङ र चुलाचुलीका ६/६ वटावाट क्रमशः ७ हजार २ सय ६ र ११ हजार १ सय ९८ तथा माई नगरको ३ वडाबाट ४ हजार ६ सय ३४ मत खसेको थियो । चुलाचुली, माङ्सेबुङ, फाकफोकथुम जस्ता विकट पालिकाहरूबाट मतपेटिका संकलन गरी मुचुल्का गर्दा सोमबार बिहान भएको थियो ।

मतगणनाका क्रममा आउनसक्ने समस्या समाधानका लागि सबै दल र स्वतन्त्र उम्मेदवारबीच सहमति भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।