उपनिर्वाचन शनिबार हुदै : मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने, २३ सय सुरक्षाकर्मी खटाइयो

काठमाडौं । निर्वाचन आयोगले शनिबार (भोलि) हुने उपनिर्वाचनका लागी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ। शनिबार इलाम क्षेत्र नम्बर २ प्रतिनिधि सभा र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा उपनिर्वाचन हुँदैछ।
आयोगले प्रतिनिधिसभाअन्तर्गत इलाम–२ र प्रदेशसभातर्फ बझाङ १ (क) मा हुने निर्वाचनमा स्वच्छता, निष्पक्षता र पारदर्शितामा असर नपर्ने गरी मतदाताहरूको सहज आवागमनका लागि सार्वजनिक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन समेत दिएको छ।
आयोगका सहायक प्रवक्ता रामदत्त पन्तका अनुसार मतदाता ओसारपसारमा प्रयोग नगर्ने गरी बिरामी बोकेको एम्बुलेन्स, खानेपानीको ट्यांकर, दूध बोक्ने सवारीसाधन, दमकल निर्बाध रूपमा सञ्चालन हुन पाउनेछन् ।
त्यस्तै, परिचयपत्र बोेकेका सञ्चारकर्मीको सवारीसाधन, दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारीसाधन, शववाहन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधन निर्बाध रूपमा चल्न पाउने आयोगले जनाएको छ ।
त्यसैगरी, निर्वाचन आयोगबाट जारी परिचयपत्र बोकेका पर्यवेक्षक, अनुगमनकर्ताले प्रयोग गर्ने, फोहोरमैला ओसारपसार गर्ने, तरकारी, फलफूल तथा विद्युत् सेवाका लागि प्रयोग हुने सवारीसाधन चल्न पाउने छन् ।
कूटनीतिक नियोग, यूएन एजेन्सी तथा द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी तथा कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको सवारीसाधन, विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारीसाधन निर्बाध रूपमा चल्न पाउने आयोगले जनाएको छ ।
सुरक्षा निकायको सवारीसाधन, आफू खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारीसाधनलाई निर्बाध रूपमा चल्न दिने आयोगले जनाएको छ । सम्बन्धित क्षेत्रका मतदातालाई मतदान केन्द्रसम्म सहज आवागमनको लागि आवश्यकता र औचित्य हेरि मतदानको दिन सार्वजनिक यातायातको उपयुक्त प्रबन्ध मिलाउने निर्णय आयोगको छ ।
उमेदवार वा निर्वाचन प्रतिनिधि एकजनाले मतदानको दिन चार पांग्रे, तीन पांग्रे वा दुई पांग्रेमध्ये एक वटा सवारीसाधन मात्र अनुमति लिएर प्रयोग गर्न सक्ने व्यवस्था मिलाउने निर्णय आयोगले गरेको छ । सम्बन्धित जिल्लासँग जोडिएका राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा सार्वजनिक यातायातका साधनहरूको आवागमनको उपयुक्त व्यवस्था मिलाउने आयोगका सहायक प्रवक्ता पन्तले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मतदानको दिन कसैले निर्देशनविपरीत सवारीसाधन प्रयोग गरेको पाइएमा सुरक्षा निकाय तथा सुरक्षाकर्मीले त्यस्तो सवारी साधन कब्जामा लिई मतदानको काम सम्पन्न भएपछि मात्र फिर्ता दिने आयोगले जनाएको छ ।
इलाम क्षेत्र नम्बर २ र बझाङमा वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने उपनिर्वाचनको सुरक्षाका लागि २ हजार ३ सय ८७ प्रहरी परिचालन गरिने भएको छ।
निर्वाचन सुरक्षाबारे जानकारी दिन प्रहरी प्रधान कार्यालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी भीमप्रसाद ढकालले उपनिर्वाचन सुरक्षाका लागि इलाममा १ हजार ३६३ र बझाङमा १०२४ जना प्रहरी परिचालन गरिने जानकारी दिएका छन्।
डीआइजी ढकालले मतदान स्थलको अवस्थाका आधारमा उल्लिखित संख्यामा प्रहरी परिचालन गरिने जानकारी दिए। जसअनुसार इलामका सामान्य मतदान केन्द्रमा ८ देखि १३ जना, संवेदनशील मतदान केन्द्रमा ९ देखि १४ जना र अतिसंवेदनशील मतदान केन्द्रमा १२ देखि १७ जना सुरक्षाकर्मी खटाइने डिआइजी ढुंगेलले जानकारी दिए।
इलाममा ३९ मतदानस्थल सामान्य, २१ संवेदनशील र १९ मतदानस्थल अतिसंवेदनशील रहेको डिआइजी ढुंगेलले जानकारी दिए। यस आधारमा इलाममा ४७२ जना प्रहरी सामान्य मतदानस्थलमा, २८९ प्रहरी संवेदनशील मतदानस्थलमा र ३१८ जना अति संवेदनशील मतदानस्थलमा खटिनेछन। त्यस्तै ११ वटा मोबाइल गाडीमा ७७ जना प्रहरी परिचालन गरिनेछ।
बझाङको उपनिर्वाचन हुन लागेको प्रतिनिधि सभा १ को प्रदेश सभा १ म २७ मतदानस्थल समान्य २४ मतदानस्थल संवेदनशील र २३ मतदानस्थल अतिसंवेदनशील छन्। त्यस अनुसार बझाङमा सामान्य मतदानस्थलमा २३६ प्रहरी, संवेदनशील स्थानमा २४६ र अतिसंवेदनशील मतदानस्थलमा ३२१ जना प्रहरी परिचालन हुनेछ। त्यहाँ १५ वटा मोबाइल गाडीमा १०५ जना सुरक्षाकर्मी परिचालन गरिने पनि डिआजी ढकालले जानकारी दिए।
मतदानस्थलरकेन्द्रको सुरक्षामा खटिएका प्रहरीले कुन बेला बल प्रयोग गर्ने भन्नेबारे तोकिएको छ। डिआइजी ढकालका अनसार मतदान केन्द्रमा हिंसात्मक, ध्वंसात्मक र अवान्छित गतिविधिको पूर्वसूचना पाएको अवस्थामा, दलका समर्थकहरूबीच झै(झगडा, कुटपिट भई मतपत्र तथा मतपेटिका तहसनहस हुन सक्ने अवस्थामा आएमा, आक्रोशित भिडबाट आक्रमण हुन सक्ने अवस्था आएमा, मतदानकेन्द्र कब्जा लिएमा वा लिने प्रयत्न गरेमा मतदाताहरूलाई मतदान केन्द्रमा जान नदिएमा वा मतदान गर्न अवरोध पुर्याउन खोजेको अवस्थामा सुरक्षाकर्मीले बल प्रयोग गर्न सक्छन्।
त्यस्तो अवस्थामा पनि सकेसम्म सम्झाइबुझाई स्थितिलाई सामान्य बनाउन प्रयत्न गर्ने डिआइजी ढकालले बताए। बल प्रयोग गर्नुपर्ने अवस्था आएमा मतदान अधिकृतसँग समन्वय गरी सम्भव भएसम्म जिल्लाको कमाण्ड पोष्टमा प्रतिवेदन गरी निर्देशन भएबमोजिम सुरक्षा कारबाही गर्नेछ।
डिआइजी ढकालका अनुसार थप जनशक्ति आवश्यक भए जिल्लाको कमाण्ड पोष्टमा प्रतिवेदन गर्न सक्नेछन्। उपनिर्वाचनका लागि सेना परिचालन गर्न पनि राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार स्वीकृति दिइसकेका छन्।





प्रतिकृया दिनुहोस्