कर्णाली प्रदेशमा मन्त्रालयको भागबण्डा मिल्यो, मन्त्रिपरिषद विस्तार हुँदै

कर्णाली । कर्णाली प्रदेशमा सत्तारूढ दलहरूले मन्त्रालयको भागबण्डा मिलाएका छन्। मन्त्रालयको भागबण्डा नमिल्दा दुई सातासम्म मन्त्रिपरिषद् गठन गर्न नसकेका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रालयको भागबण्डा टुंग्याएसंगै आज पहिलो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन्।
मंगलबार मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता यामलाल कँडेल र माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्माबीच भएको छलफलबाट मन्त्रालय भागबण्डा टुंगिएको हो।
भागबण्डामा कुरा नमिल्दा मन्त्रिपरिषद विस्तार हुन सकेको थिएन। चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले एक्लै मन्त्रालय सम्हालेका थिए। सहमतिअनुसार नेकपा माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने भएको माओवादी केन्द्र संसदीय दलले जनाएको छ।
एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा योजना मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने भएको छ। कर्णाली प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित आठ वटा मन्त्रालय छन्।
मुख्यमन्त्री कँडेलले माआवादी केन्द्रबाट रणसिंह परियार र एमालेबाट एकजनालाई मन्त्री नियुक्त गर्न लागेका छन्। तर, एमालेबाट सरकारमा को जाने भन्ने नाम टुंगो लागिसकेको छैन।
मुख्यमन्त्री यामलाल कँडेलले भागबण्डा टुंग्याएसंगै बिहीबार विश्वासको मत लिने भएका छन्। उनले यही वैशाख १३ गते विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका छन्।
माओवादी केन्द्रले चार मन्त्रालय प्राप्त गरे पश्चात् सरकार विस्तार हुने वातावरण बनेपछि मुख्यमन्त्री कँडेलले विश्वासको मत लिने मिति तय भएको कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक रनसिंह परियारले जानकारी दिए।
कर्णाली प्रदेशसभामा नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईले प्रदेश सरकार विस्तार तथा मन्त्रालय बाँडफाँटबारे सत्ता साझेदार दलबीच सहमति भएको बताए।





प्रतिकृया दिनुहोस्