विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति पौडेलले गरे कतार अमिरलाई आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग आग्रह गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा हिजो साँझ भएको द्विपक्षीय भेटवार्ताका अवसरमा राष्ट्रपति पौडेलले सो आग्रह गरेका हुन् । कतारी अमिर राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार अपराह्न नेपाल आएका छन् ।
राष्ट्रपति पौडेलले आफूहरूका लागि विपिनको रिहाइ महत्त्वपूर्ण चासोको विषय रहेको बताएको र रिहाइका लागि कतारका अमिरलाई पहल गरिदिन आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका हुन ।
राष्ट्रपति पौडेलको निमन्त्रणमा पहिलो पटक नेपाल आएका कतारी राजालाई राष्ट्रपति पौडेल आफैंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो ।
विमानस्थलबाट सिधै राष्ट्रपति भवन शीतलनिवास पुगेका अमिरलाई राष्ट्रपति पौडेलले विपिनको रिहाइको प्रसंग उठाएका थिए । विपिनका बुबाआमाले पनि कतारका राजासँग छोराको रिहाइको पहलका लागि आग्रह गरिदिन सरकारको ध्यानाकर्षण गराएका थिए ।
गत ७ अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी विपिन जोशी बेपत्ता छन् । कतारका अमिरले यसबारेमा विगतमा पनि चासो लिएर पहल गरेको र यसबारेमा थप पहल गर्ने पनि बताएका थिए ।
राष्ट्रपतिका प्रेस सल्लाहकार पोखरेलका अनुसार कतारी राजासँगको भेटमा राष्ट्रपति पौडेलले पश्चिम एसियाली क्षेत्रमा देखिएको द्वन्द्वको अवस्थाले नेपाललाई चिन्तित तुल्याएको उल्लेख गर्दै कतारले खेलेको भूमिकालाई लिएर प्रशंसा गरेका थिए । उनले भने, ‘सम्मानीय राष्ट्रपतिज्यूले पश्चिम एसिया क्षेत्रमा युद्धको अन्त्य र शान्तिको पुनःस्थापनाको कामना पनि गर्नुभयो ।’
त्यस्तै पौडेल–थानी भेटका क्रममा जलवायु परिवर्तनको विषयमा पनि छलफल भएको थियो । प्रेस सल्लाहकार पोखरेलका अनुसार राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका विषयमा कतारका अमिरसँग संवाद गरेको बताए । राष्ट्रपतिले जलवायु परिवतबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्नेजस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारका अमिरलाई आग्रह गरिएको पोखरेलले जानकारी दिए । ‘आजको विश्वको साझा समस्या भनेकै जलवायु परिवर्तनबाट पृथ्वीलाई कसरी सुरक्षित राख्ने, हिमाललाई कसरी जोगाउने, पानीको स्रोत कसरी बचाउने र वातावरण सन्तुलन कसरी राख्ने भन्ने नै हो, यसमा सबैको सहकार्य हुन जरुरी छ, यो मानव अस्तित्वको विषय छ, विशेष गरी विकसित मुलुकहरू यस विषयमा बढी गम्भीर हुनुपर्छ भन्ने म ठान्दछु,’ राष्ट्रपतिलाई उद्धृत गर्दै पोखरेलले भने ।
कतारका अमिर र प्रधानमन्त्री पुष्पकमल दाहालबीच बुधबार बिहान हुने प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्तापछि दुई मुलुकबीचमा ५ समझादारीपत्रमा हस्ताक्षर हुँदै छ । परराष्ट्रका प्रवक्ता अमृतकुमार राईका अनुसार पहिलो समझदारीका रूपमा उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान तथा दोस्रो समझदारीमा युवा तथा खेलकुदको विषयमा सहकार्य हुनेछ । साथै, थप अन्य तीन विषयमा पनि समझदारी हुने राईले जानकारी दिए । तर ती समझदारीबारे भने उनले उल्लेख गर्न चाहेनन् । महत्त्वपूर्ण मानिएको श्रम सम्झौता भने यस पटक नहुने भएको छ । प्रतिनिधिमण्डलस्तरीय भेटवार्तापछि प्रधानमन्त्री दाहालले कतारका अमिरलाई नेपालको तर्फबाट दुई वटा हात्ती उपहारस्वरूप हस्तान्तरण गर्ने कार्यक्रम छ ।





प्रतिकृया दिनुहोस्