May 5, 2026, Tuesday
२०८३ बैशाख २२

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीको सम्मानमा रात्रिभोजको आयोजना गरेका छन् । होटल सोल्टीमा आयोजना गरिएको रात्रिभोजमा नेपाली परम्परागत सांस्कृतिक झाँकी समेत प्रस्तुत गरिएको छ ।

रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति रहेको थियो । त्यस्तै रात्रिभोजमा प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्रीहरु, उपप्रधानमन्त्री, मन्त्री, सांसद, उद्योगपति एवं विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभावको सहभागिता थियो ।

कतारका अमिर अल थानी राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा आज अपराह्न त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए ।

राष्ट्रपति पौडेल, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यले विमानस्थलमा उनको स्वागत गरेका थिए । कतारका अमिर विमानस्थलबाट राष्ट्रपति भवन शीतल निवास पुगेका थिए । विमानस्थलमै कतारका राजालाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको थियो ।

शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरसहितको प्रतिनिधिमण्डलबीच द्विपक्षीय भेटवार्ता भएको थियो । बुधबार दुई देशका प्रतिनिधिमण्डलस्तरीय भेटवार्ताको कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनीसँग डेढ सयभन्दा बढीको भ्रमण दल छ । त्यसबाहेक औपचारिक वार्तामा बस्ने ११ जनाको विशेष प्रतिनिधि मण्डल छुट्टै रहेको छ ।

भ्रमण दलमा कतारको प्रशासनिक मामिला हेर्ने अमिरी दिवान प्रमुख शेख साउद बिन अब्दुल रहमान, यातायातमन्त्री जसिम विन सैफ अल सुलाती, वाणिज्य तथा उद्योगमन्त्री शेख मोहम्मद बिन हमाद बिन कासिम, परराष्ट्र राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखी छन् ।

यसैगरी अमिरी दिवानको अध्ययन र अनुसन्धान विभागका निर्देशक साद बिन नासेर अल काबी, कतार लगानी प्राधिकरण (क्यूआईए)को एसिया र अफ्रिका लगानी प्रमुख शेख फैसल बिन थानी अल थानी, परराष्ट्र मन्त्रालयको एसिया मामिला विभाग प्रमुख युसुफ सुल्तान लाराम, अमिरको स्वकीय सचिवालयका प्रमुख बिन घनिम अल्होदैफी, राज दरबारको समारोह विभागका सहायक निर्देशक तलाल बिन अल्मास अल सुलती तथा अमिर (राजा) का निजी सहायक मन्सुर फलेह अल–हजरी भ्रमण दलमा छन् ।

प्रधानमन्त्री प्रचण्ड र अल थानीबीच बुधबार बिहान साढे १० बजे होटेल सोल्टीमा औपचारिक वार्ता हुने कार्यक्रम रहेको छ । उक्त औपचारिक वार्ताका लागि ४५ मिनेट समय तय भएको छ । उक्त वार्तापछि विभिन्न समझदारी र सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ ।

उक्त कार्यक्रम सम्पन्न भएपछि मध्याह्न १२ बजे प्रधानमन्त्री प्रचण्डले उनको सम्मानमा होटेल द्वारिकामा दिवा भोज आयोजना गर्नेछन् । दिवा भोजमा सहभागी भएपछि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने कार्यक्रम छ । निजी विमानमा आएका उनी दिउँसो २ बजे कतारको दोहाका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।